सरकारकै संरक्षणमा महिलाहरू खाडी मुलुकमा बेचिएको खुलासा

साउन २४, मकालु खबर । सरकारकै संरक्षणमा नेपाली महिलाहरूको खाडी मुलुकमा बेचविखन भइरहेको खुलासा भएको छ । व्यवस्थापिका संसद् अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति अन्तरगतको उपसमितिले खाडी मुलुकको स्थलगत अनुगमन निरीक्षण गरी तयार पारिएको प्रतिवेदनमा बेचविखनमा परेका महिला कामदारहरु दूतावासको शरणमा आउने गरे पनि सरकारकै संरक्षणमा दोषीमाथि कार्वाही भने नभएको पाइएको हो ।

मङ्गलवार समितिको बैठकमा प्रतिवेदन पेस गर्दै उपसमितिका सदस्य विनोद श्रेष्ठले मानव तस्करमा संलग्न व्यक्तिहरूलाई कार्वाही गर्न भूमिका खेल्नुको सट्टा परराष्ट्र मन्त्रालयले आफूसँग प्राप्त सूचना समेत लुकाई मानव तस्करीलाई सघाएको देखिन आएको स्पष्ट पार्नु भयो । उहाँले खाडी मुलुकमा बेचबिखनमा परेका महिलाहरू दिनहुँ दूतावासको शरणमा आउने तर तिनीहरूलाई बेच्ने एक जना दलालमाथि पनि कार्वाही नहुने विडम्बनापूर्ण स्थिति उत्पन्न भएको पनि जानकारी दिनु भयो ।

उपसमितिले कतिपय महिलाहरू नेपालकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सरकारी सेटिङमै खाडी मुलुक पठाउने गरेको पाइएको पनि स्पष्ट पारेको छ । ठुलो सङ्ख्यामा नेपाली महिलाहरू भारत लगायतका मुलुकबाट खाडी मुलुकहरू साउदी अरब, कतार, कुवेत, ओमान र संयुक्त अरब इमिरेटस पु¥याई बेचविखन हुँदै आएको छ ।

उपसमितिले दोहोरो श्रम सम्झौताका कारण पनि नेपाली कामदार माथि शोषण हुने गरेको पनि खुलाएको छ । त्यसै गरी घरेलु महिला कामदारहरूको अवस्था दर्दनाक रहेको पनि प्रतिवेदनमा उल्लेख छ । उपसमितिका सदस्य श्रेष्ठले धेरैजसो महिला कामदारमाथि चरण शारीरिक यातना दिएको पाइएको पनि बताउनु भयो । उहाँले शारीरिक, मानसिक र यौनजन्य हिंसाबाट नेपाली महिला कामदारहरु पीडित रहेको पनि बताउनु भयो ।

उपसमितिले अधिकांश घरेलु कामदारहरुलाई आफू कुन ठाउँमा छु भन्ने समेत जानकारी नहुँदा उनीहरूको उद्धार कार्यमा समस्या हुने गरेको पनि प्रतिवेदनमा औंल्याइएको छ । साउदी अरबमा काम गरेका महिला कामदारहरुलाई वर्षौ तलब नदिई घर मालिकले नेपाल पठाउने गरेको पनि पाइएको छ । खाडी मुलुकमा रहेका नेपाली कामदारहरुलाई खानपीन र बसोबासको समेत उचित प्रबन्ध नभएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

खाडी मुलुकमा गएका कामदारहरु मध्ये ६० प्रतिशत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै तस्करी हुने गरेको पाइएको छ । तर नेपाल सरकारसँग हालसम्म पनि कति नेपाली कामदार खाडी मुलुकमा रहेका छन् भन्ने एकीन तथ्याङ्क नै छैन । समितिले खाडी मुलुकमा रहेका नेपाली कामदारहरूको उचित व्यवस्था गर्न सरकारलाई पटक–पटक सचेत गराउँदै आएको छ । पछिल्लो समय मानव तस्करी समेत बढ्दै गएपछि समितिले उपसमितिनै बनाएर खाडी मुलुकको स्थलगत अवलोकन गरी प्रतिवदेन तयार पारेको हो । प्रतिवेदनमाथि छलफल गरी आवश्यक निर्देशन सरकारलाई दिने समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *