मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

‘स्वाइन फ्लु होइन, कडा रुघाखोकी’ : यस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौं, साउन २४ । अप्रिल २ मा ललितपुर छम्पीकी ५२ वर्षीया महिलाको उपचारक्रममा ज्यान गयो । उनको मृत्यु ‘एच१ एन१ पिडिएम ०९ टाइप ए’ नामको भाइरसका कारण उत्पन्न हुने कडाखाले मौसमी रुघाखोकी (यसलाई स्वाइनफ्लु भन्ने गरिएको छ) बाट भएको थियो । उनी मधुमेहबाट समेत पीडित थिइन् ।

-जुलाई २४ मा त्यस्तै प्रकृतिको अर्को घटना भयो । कडाखाले रुघाखोकी लागेपछि ढिलो गरी अस्पताल पुगेका बूढानीलकण्ठका २५ वर्षीय युवकको उपचारक्रममा मृत्यु भयो । मृत्युको पृष्ठभूमि खोज्दै जाँदा अत्यधिक मदिरा सेवन गर्ने गरेको भेटियो ।

-पोखराका ७६ वर्षीय एक पुरुषको उपचारक्रममा त्यस्तै रुघाखोकीले ज्यान गएको चिकित्सकले बताएका छन् । उनलाई पनि दमको समस्या पहिल्यै भएको र यो रोग लाग्दा ज्यान बचाउन नसकिएको चिकित्सकको भनाइ छ । यो रोग फैलाउन मुख्यतः चार प्रकारका भाइरसमध्ये ‘एच १ एन १’ सबैभन्दा खतरनाक मानिने चिकित्सक बताउँछन् ।

-१६ जुलाईमा झापाका ४७ वर्षीय पुरुषको पनि त्यस्तै प्रकृतिको रुघाखोकीबाट भारतमा उपचारक्रममा मृत्यु भएको थियो । चिकित्सकले उनलाई पहिले ‘लिम्फोमा क्यान्सर’ बाट पीडित भएको र रुघाखोकीले मृत्युमा सहयोग पुगेको बताएका छन् ।

पछिल्लो तथ्यांकअनुसार यो वर्ष कडा रुघाखोकीबाट १० जनाले ज्यान गुमाइसकेका छन् भने तीन सय ५६ जना बिरामी परेका छन् । पाल्पा, स्याङ्जा, पोखरा, बुटवल र झापामा यो समस्या विकराल बनेको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने काठमाडौं, ललितपुर र पोखराका तीन जनाको मृत्यु यो रोगबाट भएको पुष्टि गरेको छ । महाशाखाले बाँकी मृत्युलाई शंकास्पद भनेको छ । महाशाखाका अनुसार त्यसमा थप अनुसन्धान गर्न बाँकी छ ।

नेपालमा पछिल्लो ६ वर्षयता हरेक वर्ष मौसम परिवर्तनका बेला यो रोग फैलिन थालेको छ । सरकारी तथ्यांकअनुसार सन् २०१२ यता यो रोगका बिरामी घट्ने÷बढ्ने भइरहेका छन् । डा. शर्माका अनुसार तापक्रममा परिवर्तन आउने समय खासगरी जनवरीदेखि अप्रिलसम्म र जुलाईदेखि अगस्टसम्म यो रोग फैलाउने ‘भाइरस’ मौलाउने गरेको छ ।

कस्ता व्यक्तिलाई असर गर्छ ?
-टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिजिसिएन डा. अनुप बास्तोलाका अनुसार यो रोगले खासगरी मिर्गौला, क्यान्सर, मुटु, फोक्सोको समस्या भएका, मधुमेह, थाइराइड र एचआईभी संक्रमण देखिएका व्यक्तिमा छिट्टै आक्रमण गर्छ ।
-अत्यधिक अल्कोहल सेवन गर्ने, धूमपान गर्ने व्यक्ति, बालबालिका, गर्भवती महिलालगायत पनि यो रोगको जोखिममा पर्ने गरेका छन् ।

कसरी सर्छ ?
-प्रभावित व्यक्तिको सम्पर्कमा आउँदा हावाको माध्यमबाट सबैभन्दा छिटो सर्ने यो रोगले फोक्सोको ‘टिस्यु’ मा असर गरी अपर्झट श्वाप्रश्वासमा बाधा पुर्‍याउन सक्छ । -यसलाई चिकित्सक ‘एक्युट रेस्पिराटरी डिस्ट्रेस सिन्ड्रोम’ भन्छन्, यसले गर्दा बिरामी अझ गम्भीर बन्ने गरेका छन् ।

स्वाइनफ्लुको नाममा आतंक
-विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग सबैभन्दा पहिले सन् २००९ मा मेक्सिकोको बेराक्रुज इलाकाको सुँगुर फार्ममा देखिएको थियो ।
-त्यो बेला यो रोगलाई ‘स्वाइन फ्लु’ को नाम दिइएको थियो ।
-विस्तारै यो संसारका धेरै देशमा फैलिएको पाइन्छ, त्यसैकारण संगठनले त्यसलाई ‘एच १ एन १ पेन्डेमिक ०९’ नामकरण गरेको छ ।

बच्ने उपाय
– संक्रमितको सम्पर्कबाट बच्नु
– सफा रहनु
– स्तरीय मास्क प्रयोग गर्नु
– खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्नु
– हाच्छिउँ गरेपछि साबुनपानीले हातमुख धुनु

लक्षण
– रुघाखोकी लाग्नु
– भोक नलाग्नु
– शिथिलता बढ्नु
– हल्का ज्वरो आउनु
– टाउको दुख्नु
– घाँटी दुख्नु,
– वाकवाकी लाग्नु

कडा रुघाखोकी
– कडा रुघाखोकीबाट यो वर्ष १० जनाको मृत्यु, ३५६ बिरामी
– पाल्पा, स्याङ्जा, पोखरा, बुटवल र झापामा समस्या विकराल
– काठमाडौं, ललितपुर र पोखराका तीन जनाको मृत्यु ‘कडा रुघाखोकीबाट’ भएको सरकारी दाबी
– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बरुण प्रयोगशाला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय प्रयोगशाला र भरतपुर अस्पतालको प्रयोगशालालाई मात्रै यो रोग जाँच्ने अधिकार
– नेपालमा ६ वर्षयता हरेक वर्ष मौसम परिवर्तनका बेला यो रोगको संक्रमण
– जनवरीदेखि अप्रिलसम्म र जुलाईदेखि अगस्टसम्म यो रोग फैलाउने ‘भाइरस’ संक्रमण बढी
– मिर्गौला, क्यान्सर, मुटु, फोक्सोको समस्या भएका, मधुमेह, थाइराइड र एचआईभी संक्रमण देखिएकामा छिट्टै आक्रमण
– अत्यधिक अल्कोहल सेवन गर्ने, धूमपान गर्ने व्यक्ति, बालबालिका, गर्भवती महिलालगायत पनि जोखिममा

प्रतिकृयाहरु
Loading...