किशोरीहरु बेहोस हुने समस्या खासमा कस्तो समस्या हो ?

कतिपय अभिभावक आफ्ना किशोरी छोरीमा ‘छोप्ने व्यथा’ रहेको भन्दै उपचारका लागि अस्पताल आइपुग्छन् । त्यसो त उनीहरुले यस्तो रोगको उपचारका लागि धाँमी–झाँक्रीकोमा पुगेर हारगुहार गर्दा पनि बिसेक नभएको अनुभव समेत सुनाउने गर्छन् । तर, यो रोगको वास्तविकता अर्कै छ ।
छोप्नु अर्थात् बेहोस हुनु, अर्धचेत अवस्थामा अप्रासंगिक कुराहरु बोल्नु या शरीरका अंगहरु अनजानमा नै चलाउनु, कहिलेकाहिँ त आँखा अगाडि कालो छायाँ आयो, छोप्यो, घाँटी अँठ्यायो, थिच्यो भन्दै चिच्याउनु आदि यो रोगका लक्षण हुन् । छारे रोगमा पनि यस्तै लक्षण देखिने भएको हुँदा यस्ता बिरामीलाई राम्ररी परीक्षण गर्नुपर्ने हुन्छ । पहिले पहिले ‘हिस्टेरिया’ भनेर किशोरी युवतीहरुमा हुने यौन असन्तुष्टि या कुण्ठाको परिणामका रुपमा व्याख्या गरिएका यस्ता लक्षण अचेल मानसिक रोगको प्रकारका रुपमा ‘डिसोसिएटिभ या कन्भर्सन डिसअर्डर’ का रूपमा वर्गीकरण गरिएका छन् ।
जनमानसमा (पढेलेखेका चेतनशील समाजमा समेत) अझै पनि यो छोप्ने व्यथा कूलदेवता बिग्रनाले, बोक्सी लागेर या कसैले टुनामुना गर्नाले हुने रोग हो भन्नेर भन्ने गरिन्छ । यो रोगलाई डाक्टरी औषधिले ठीक पार्न नसक्ने भएकोले धामी–झाँक्रीबाट बोक्सी पन्छाएर, पशुबलि दिएर या पूजा गरेर मात्र निको हुन्छ भन्ने मान्यता पाइन्छ । त्यस्तै, किशोरीहरुमा धेरै देखिने यी लक्षणहरु विवाह गरिदिएमा आफै ठीक भएर जान्छन् भन्ने धारणाले गर्दा केटीहरुको चाँडै विवाह गरिदिने चलन पनि छ । तर, यी मान्यता सही होइनन्।

‘छोप्ने रोग’ मुख्यतयाः एक विशेष प्रकारको मानसिक रोग हो । मनोवैज्ञानिक अध्ययन गर्दा, बिरामीमा अव्यक्त रूपमा रहेका कुण्ठा, चिन्ता या डरलाग्दा कुनै घटना विशेष या परिवेशका कारण बाहिर अभिव्यक्त भइदिँदा यस्ता लक्षण देखिने गर्छन् । पारिवारिक या सामाजिक तनाव, अध्ययन या कामको बोझ, किशोरीहरुमा क्रमशः विकसित भइरहेका शारीरिक परिवर्तन (यौन अंगको वृद्धिविकास, हर्मोनमा हुने उतारचढाव, महिनावारीको शुरुवात ) आदि सबै कारकतत्व यससँग सम्बन्धित हुन्छन् ।
हालसालै नयाँ अध्ययनहरुले मस्तिष्कका केही अवयवहरुमा हुने परिवर्तन समेत यसका लागि जिम्मेवार ठानेका छन् । मनोवैज्ञानिक शोधहरुले जुन कुरा व्यक्तिले मौखिक एवं स्पष्टरुपमा बाहिर प्रकट गर्न सकिरहेका हुँदैनन् या व्यक्त गर्न पाउँदैनन्, ती सब लाक्षणिक रुपमा यो रोगमा देखा पर्दछन् भन्ने प्रमाणित नै गरेका छन् । ती लक्षणहरुको मनोवैज्ञानिक विश्लेषण गर्न सक्नेहरुले मात्र त्यसको उचित उपचार गर्न सक्छन् ।
यो रोग धेरै जनालाई एकै पटक उस्तै प्रकृतिका लक्षणहरु सहित देखा पर्न सक्छ । यस्ता बिरामीलाई धामी–झाँक्री कहाँ लैजाँदा बिरामीको रोगको सही पहिचान र उपचार हुन नसक्ने मात्र नभई अन्धविश्वासको मात्रामा वृद्धि हुन्छ । त्यसैले यस्ता लक्षण देखिएमा बिरामीलाई तुरुन्त डाक्टरकोमा लैजानु पर्छ । र, उनीहरूको आवश्यक उपचार गराउनु पर्छ ।
– डा. अजय रिसाल, मनसिक रोग विशेषज्ञ








