डा. कनोडिया को हुन्, नगर विकास गर्ने उनका योजना के छन् त ?

लोकेन्द्र थापा । भनिन्छ, असफलता नै सफलताको प्रतीक हो । यो भनाई जति सुन्नमा सहज र राम्रो लाग्छ व्यवहारमा लागु गर्न त्यत्तिकै अप्ठ्यारो हुन्छ । यही अप्ठ्यारो र असहजतालार्इ चिर्दै अगाडि बढेका व्यक्ति मध्येका एक हुन् डा. सुरेश कुमार कनोडिया । पहिलो पटकको प्रवेशीका परीक्षामा अनिवार्य अङ्ग्रेजी विषय लागेर अनुर्तिण भएका डा. कानोडियाले यही वाक्यलार्इ स्मरण गरेर पढार्इमा लगाव बढाए र कक्षा मात्रै होइन सन् १९६७ मा काठमाडौँ त्रिपुरेश्वर स्थित विश्वनिकेतन स्कुलकै टपर भए । त्यसपछि उनी कहिल्यै दोस्रो भएनन् ।

शान्तिका दुत भगवान् गौतम बुद्धको जन्मस्थल कपिलबस्तुको कृष्णनगरमा २२ अक्टुबर १९५२ सालमा बुवा ओम प्रकाश कानोडिया र आमा सावित्री कानोडियाको माइलो सन्तानको रूपमा उनको जन्म भएको हो । सात वर्षको उमेरमा कपिलबस्तुकै स्थानीय विद्यालयमा एकैपटक चार कक्षामा भर्ना भएका डा. कानोडियालाई परिवारका सदस्यहरूले नै ‘डाक्टर बाबु’ भनेर बोलाउँथे । भविष्यमा डाक्टर बनेर बिरामीको उपचार गरेको सपना देख्ने डा. कानोडिया प्रवेशीका परीक्षामै अनुर्तिण भएपछि उनलाई डा. बनाउने सपना तुहिने हो कि भन्ने चिन्ता परिवारमा पैदा भयो । तर डा. कानोडियाले असफलतालाई सफलताको प्रेरक मानेर अघि बढे । अनि आफ्नो लगनशिलता र सङ्घर्षलाई अगाडि बढाउँदै काठमाडौँको त्रिचन्द्र कलेजबाट आइएससी टपर भए ।

सन् १९७२ मा उनी सहित ८ जनाले (४ जना मेडिसिन र ४ जना इन्जीनियरिङ्गका) विद्यार्थीहरूले रुसको मस्कोस्थित पिपल्स फ्रेण्डशिप युनिभर्सिटीमा छात्रवृत्तिमा पढ्ने अवसर पाए । जहाँ ११ वर्ष अध्ययन गरेर डा. कानोडियाले सर्जरीमा विज्ञता प्राप्त गरे । कोर्ष सकिएपछि उनलाई घाना, केन्या लगायतका देशबाट कामको प्रस्ताव नआएको होइन । तर उनले आफ्नै देश रोजे । आफ्नै देशका जनताको सेवा गर्ने चाह राख्दै उनी नेपाल फर्किए ।

अझै पनि नेपाली युवाहरू रोजगारी वा अध्ययनका लागि भनेर विदेश जाने अनि उतै पलायन हुने गरिरहेका छन् । तर डा. कानोडियाले भने विदेशमा पाएका थुप्रै अवसरहरुको परवाह गरेनन् । र आफ्नै देशको स्वास्थ्य क्षेत्रबारे चिन्तित हुँदै केही गर्ने इच्छा–आकाङ्क्षाका साथ नेपाल फर्किए । तर त्यति बेला स्वास्थ्य क्षेत्रमा काम गर्न अहिले जस्तो निजी स्वास्थ्य संस्थाहरू थिएनन् । त्यसैले स्वास्थ्य मन्त्रालयमा गएर जागिरका लागि आवेदन दिए अनि विक्रम संवत् २०४० सालमा वीर अस्पतालमा ९ महिना काम गरे । त्यसपछि डा.कानोडियाको कर्मथलो बन्यो नेपालगन्ज । उनले नेपालगन्ज स्थित भेरी अञ्चल अस्पतालमा २०५४ साल सम्म (करिब १४ वर्ष) काम गरे ।

भेरी अञ्चल अस्पतालमा काम गर्दा उनले मध्य र सुदूरपश्चिम क्षेत्रको कहाली लाग्दो स्वास्थ्य अवस्था बारे बुझ्ने मौका पाए । यस क्षेत्रका अधिकांश जनता गरिबी, बेरोजगारी, चेतनाको अभाव जस्ता कारणले सामान्य रोगलाई पनि हेलचक्र्याँई गरेर मृत्युको मुखमा पुगिरहेका थिए । त्यस माथि चाहेर पनि यस क्षेत्रका मानिसहरूको पहुँच सुविधा सम्पन्न स्वास्थ्य संस्थाहरू सम्म हुन सकेको थिएन । यी सबै बाध्यात्मक अवस्था डा. कानोडियाले सूक्ष्म मनन् गरिरहेका थिए ।

पैसा खर्च गरेर पनि राम्रो उपचार पाउन नसक्नु यस क्षेत्रका जनताको पीडा थियो । राम्रो उपचारका लागि छिमेकी मुलुक भारत वा राजधानी काठमाडौँ जानुपर्ने बाध्यता थियो । यस्तो अवस्था देखेर चिन्तित डा. कानोडिया सधैँ नै सरोकारवालाहरुसँग छलफल गरिरहन्थे । यहाँका राजनीतिक दल, बौद्धिक व्यक्तित्वहरुसँग निरन्तर छलफलमा रहेका कानोडियाले एक दिन चिसापानीमा भारतीय नागरिकले स्थापना गर्दैगरेको मेडिकल कलेज बन्द भएको थाहा पाएका थिए । मनमनै उनलाई यो मेडिकल कलेज चलाउन पाए त हुन्थ्यो भन्ने लागिरहेकै थियो । ठिक त्यसैबेला तत्कालीन काँग्रेस नेताहरू सुशील कोइराला, खुमबहादुर खड्का लगायतका नेताहरूले डा. कानोडियालाई भारतीय नागरिक डिवाई पाटिलले स्थापना गर्न लागेको मेडिकल कलेज सञ्चालनको प्रस्ताव गरे । राजनीतिक तहबाट प्रक्रियागत कामहरुमा सहयोग भए आर्थिक जोहो गर्ने मन डा. कानोडियाले यसअघि नै बनाईसकेका थिए । त्यसैले उनले आफ्ना साथीभाईहरु र परिवारको सहयोगमा सन् १९९६ को मार्च अर्थात् बि.सं. २०५३ फागुनमा डिवाई पाटिलसँग सम्झौता गरी अर्को वर्षको साउन १ गते लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड दर्ता गरे । जसअन्तरगत सन् १९९७ अर्थात् २०५४ सालबाट नेपालगन्ज मेडिकल कलेज सञ्चालनमा आयो । निजी क्षेत्रबाट सञ्चालनमा आएको सुविधा सम्पन्न मेडिकल कलेजबाट सेवाप्रवाह हुन थालेपछि मध्य तथा सुदूरपश्चिम क्षेत्रका नागरिकले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता धेरै हदसम्म टरेको छ ।

डा. कानोडियाले बिरामीको उपचार मात्रै नभई नेपालीको डाक्टर र नर्स बन्ने चाह पनि यहीँ पुरा गर्ने अवसर जुराए । कानोडियाकै अग्रसरतामा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, नेपालगन्ज मेडिहल कलेज नर्सिङ्गहोम नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज चिसापानीमा शिक्षा र रोजगार समेत प्रदान भइरहेको छ ।
पहिलो ब्याजमा ७५ जना चिकित्सक उत्पादन गरेको नेपालगन्ज मेडिकल कलेजले हाल सम्म १७ सय डाक्टर, ४ सय बढी नर्स उत्पादन गरिसकेको छ । नेपालगन्ज मेडिकल कलेजले नै उत्पादन गरेका अधिकाशं चिकित्सक र नर्सले मेडिकल कलेजमा रोजगारी पाइरहेका छन् । यहाँ अध्ययन गरेका कयौँ विद्यार्थीहरू हाल अमेरिका, युरोप, अस्ट्रेलिया, जापान लगायतका देशहरूमा पुगेर स्वास्थ्य क्षेत्रमा आफूलाई स्थापित गरिसकेका छन् । अहिले १४ सय डक्टर, नर्स र अन्य कर्मचारीले नेपालगन्ज मेडिकल कलेजमा प्रत्यक्ष रोजगारी पाएका छन् ।

शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका डा. कानोडियाले दूरदराजका दुःखी गरिब विरामीहरुको सेवामा पनि उत्तिकै ध्यान पु¥याएको पाइन्छ । आङ खस्ने समस्याबाट पीडित मध्य र सुदुरपश्चिमका पहाडी तथा हिमाली जिल्लाका महिलाहरुका लागि भनेर उनले १८ वर्षयता अभियानै सञ्चालन गरेका छन् । आङ खस्ने समस्या ब्यहोरिरहेका महिलाहरुका लागि उनले निःशुल्क शिविर सञ्चालन गरेर सेवा प्रवाह गरिरहेका छन् । त्यस्तै महामारी फैलिएका क्षेत्रमा विशेषज्ञ चिकित्सकहरुको टोली र औषधिको व्यवस्था गरेर पनि डा. कानोडियाले सामाजिक उत्तरदायित्व वहन गरिरहेकै छन् । अनि आवश्यक ठाउँहरूमा निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन त नियमित जस्तो छँदैछ । नेपालगन्ज मेडिकल कलेजमा अहिले सबै प्रकारको स्वास्थ्य सेवा उपलब्ध हुँदै आएको छ । जटिल प्रकारको क्यान्सरको पनि यहीँ नै उपचार व्यवस्था गर्ने तयारीमा डा. कानोडिया रहेका छन् ।
नेपालगन्ज मेडिकल कलेजले ०६७ र २०६८ मा शिक्षा क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने संस्थाको रूपमा पनि प्रधानमन्त्रीबाट सम्मान पाएको थियो । डा. कानोडियाले स्वास्थ्य शिक्षाको क्षेत्रमा विशेष योगदान गरेवापत् राष्ट्रपतिबाट २०६७ साल जेठ १५ गते सुप्रबल जनसेवाश्री तृतीय प्राप्त गरेका छन् । ०४६ सालको प्रजातान्त्रिक आन्दोलन पछि उनले बाँके जिल्ला सरकारी कर्मचारी सङ्गठनको प्रथम अध्यक्ष, नेपाल मेडिकल एसोसिएसनका केन्द्रीय उपाध्यक्ष (२०४८ – २०५०), नेपाल मेडिकल एशोसिएशन भेरी शाखाको अध्यक्ष (०६८–०७०) र एशोसिएशन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज अफ नेपालका संस्थापक अध्यक्ष (०६५–०७१) रहेर सामाजिक गतिविधिमा पनि योगदान पु¥याईसकेका छन् ।

डा.सुरेश कुमार कानोडिया राजनीतिमा किन ?
लामो समयदेखि प्रजातान्त्रिक विचारधारामा आस्था राख्ने डा.सुरेश कुमार कानोडिया संविधान सभाको दोस्रो निर्वाचनमा क्षेत्र नम्बर ३ बाट समानुपातिक सभासद्का उम्मेदवार थिए । त्यसपछि अहिले स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तरगत प्रदेश नम्बर ५ को बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका छन् । सबै नीतिको माउ नीति भनेकै राजनीति भएकाले आफूले नगरको विकासका लागि काँग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएको डा. सुरेश कुमार कानोडिया बताउँछन् । उनी भन्छन्– ‘एक्लो व्यक्ति वा निजी संस्थाले सबै क्षेत्रको विकास गर्नु सम्भव हुँदैन । तसर्थ नगरको समग्र विकासका लागि राजनीतिमा लागेको हुँ । राजनीति भनेको समाज सेवा बताउने डा. कानोडियाले राजनीतिलाई पेसा र व्यवसाय बनाउनेहरुका कारण समस्या भएको धारणा राख्छन् । राजनीतिलाई व्यवसाय बनाउनेहरुकै कारण देशको विकास तीव्र गतिमा हुन नसकेको, दण्डहिनता बढेको र भ्रष्ट्रचारले प्रश्रय पाइरहेको उनको ठम्म्याई छ । जन्मस्थल कपिलबस्तु भए पनि बाँकेलाई कर्मथलो बनाएका डा.कानोडिया नेपालगन्जका प्राय सबै समस्याहरूबाट अछुतो छैनन् । उनले यहाँको भौगालिक, सामाजिक–सांस्कृतिक र समुदायगत वस्तुस्थिति बुझेका छन् । नेपालकै प्रमुख सहर मध्येको नेपालगन्जको अपेक्षाकृत विकास हुन सकेको छैन । उपयुक्त ढल निकासको व्यवस्था हुन नसक्दा नगरवासीले हरेक वर्ष डुबानको समस्या झेल्नु परिरहेको छ । त्यस्तै अत्याधिक गर्मी हुने नेपालगन्जमा लोडसेडिङ् र लोभोल्टेजको समस्या पनि उत्तिकै छ । स्वास्थ्य क्षेत्रमा लामो समय व्यवस्थापनको जिम्मेवारी कुशलतापूर्वक पुरा गरिसकेका डा.कानोडियाको चुनावी घोषणा पत्र यस्तो छ ।

५ वर्ष : ५ प्रतिबद्धता

भौतिक विकास
– नेपालगंजको भौगोलिक अवस्था, रणनैतिक महत्त्व, अन्तर्राष्ट्रिय सीमाको कारणले सृजित अवसरलाई उपयोग गर्दै यस क्षेत्रकै समुन्नत सहरको रूपमा विकास गरिनेछ ।
– नेपालगन्जलाइ महानगरपालिका बनाउन तत्काल पहल गरिनेछ । डिजिटल नेपालगन्जको गुरु योजना तयार गरी आधुनिक सहर निर्माण गरिने छ ।
– गुणस्तरिय सडक सञ्जालको निर्माण, जिर्ण सडकको मर्मत तथा स्तरोन्नती, वैज्ञानिक ढल निकास प्रणाली विकास गरी ‘कहिल्यै नडुब्ने नेपालगंज’ को निर्माण गरिनेछ ।
– पश्चिम नेपालकै प्रमुख हवाई मार्गका रूपमा रहेको राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नती गर्न पहल गरिनेछ ।
– प्रशस्त सम्भावना भएता पनि मानव विकास सुचकांकमा ३६ औँ स्थानमा रहेको बाँके जिल्लालाई आगामी ५ वर्षमा ५ नम्बरमा पार्ने गरी योजना कार्यान्यवयन गरिनेछ । प्रतिव्यक्ति आय १३३३ बाट न्यूनतम २००० मा पुर्‍याउने गरी आय आर्जनका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
– भेरी बबइ डाइभर्सन आयोजना र सोबाट बबइ सिंचाइ आयोजनामा बढ्ने पानीको मात्राको समुचित प्रयोग गरी उपमहानगरपालिका भित्रका राजमार्ग उत्तरका स्थानमा सिंचाइको सुविधा पुर्याइनेछ ।
– उप महानगरपालिकाका सबै गाउँ–बस्तीमा सहज पहुँच हेतु चक्रपथ निर्माण गरिनेछ साथै अन्तर्राष्ट्रिय व्यपार बिस्तारको निम्ति प्रस्तावित सुख्खा बन्दरगाहको सञ्चालन प्रक्रियालाई तीव्रता दिइनेछ ।
– प्लाष्टिक मुक्त नगर प्रति प्रतिबद्धता जनाउँदै स्वच्छ – सफा नेपालगंज निर्माणको निम्ति सुर्योदय अगावै फोहोर उठाइनेछ । निर्माणाधिन फोहोर व्यवस्थापन केन्द्र (ल्याण्डफिल साइट) लाई सञ्चालनमा ल्याइनेछ । फोहोरबाट नविकरणिय ऊर्जाको सम्भावना पहिचान गरी सोको व्यवस्था मिलाइनेछ ।
– ओझेलमा परेको रानी तलाउ (कान्ति ताल ), पुरैना ताल–तलैया, धम्वोझी स्थित वाटरपार्कलाई अत्याधुनीक पर्यटकीय केन्द्रका रूपमा विकास गरिनेछ ।
– सार्वजनिक – निजी साझेदारीलाई प्रोत्साहित गर्दै नगरमा बृहत् सभागृह, सहकारी बैङ्क, कोल्ड स्टोर, थप प्राविधिक शिक्षालय, खेद मैदान, व्यवस्थित आवास, ज्येष्ठ नागरिक मिलन केन्द्र, कृयापुत्री घर, सब दाहगृह र कब्रिस्तान आदि निर्माण सञ्चालन गरिनेछ ।
– नेपालगन्जमा विश्व विद्यालय स्थापना , प्रत्येक वडामा स्वास्थ्य केन्द्र र भेरी अञ्चल अस्पतालको स्तरोन्नती गरिनेछ र प्रत्येक नगरबासीले आधारभूत र आपत्कालीन सेवा निःशुल्क प्राप्त गर्ने व्यवस्था अवलम्बन गरिनेछ ।
– व्यवस्थित बसपार्क सहितको ‘अटो भिलेज’ तथा नगर बस , ट्याक्सी र रिक्सा स्टैण्डको निर्माण गरिनेछ ।
आर्थिक सम्बृद्धि
– व्यवस्थित औद्योगिक क्षेत्र निर्माण, पर्यावरणीय हिसाबले जोखिम जन्य उद्योगहरुलाई स्थानान्तरण गरी दिगो विकास सहितको औद्योगिक सम्बृद्धिको खाका कोरिनेछ ।
– उद्योग र कलकारखाना निर्माणको निम्ति सहज रूपमा जग्गाको प्राप्ति, सहुलियत दरमा लिजरपरचेजको व्यवस्था मिलाइनेछ ।
– उद्योगी र व्यवसायीलाई व्यावसायिक र भौतिक सुरक्षाको प्रत्याभुति दिई लगानी मैत्री वातावरणको सृजना गरिनेछ ।
– मान सरोवर, रारा, से–फोक्सुण्डो, बाँके र बर्दिया राष्ट्रिय निकुन्ज, स्वर्गद्वारी र बागेश्वरी मन्दिर आदिको प्रवेशद्वारको रूपमा रहेको नेपालगन्जलाई पर्यटकिय हबका रूपमा विकास गरिनेछ ।
– होटेल व्यवसायलाई व्यवस्थित र पर्यटनमैत्री बनाइनेछ ।
– सिंचाईको समुचित व्यवस्था गर्न राजमार्ग दक्षिणका सबै स्थानमा सिक्टा सिंचाई आयोजनाको बिस्तार गरिनेछ ।
– नेपालगन्ज आसपासमा रहेका तरकारी, फलफुल, पशुपालन, माछा खेतीको सम्भावना रहेका ‘पकेट जोन’ को पहिचान गरी सोको प्रवर्द्धनका निम्ति आवश्यक रणनीति तय गरिनेछ ।
– एकीकृत कृषि प्रणालीलाई प्रोत्साहन गर्न चक्लाबन्दी, बाँझो जग्गालाई लिजमा लिने, सहुलियत व्याजदरमा ऋण प्रवाह आदि सम्बन्धी ठोस नीति तर्जुमा गरिनेछ ।
– युवा स्वरोजगारितालाई बढावा दिन सहुलियत ऋण, व्यावसायिक तालिम, शीपमुलक शिक्षाको व्यवस्था गरी वैदेशिक रोगजारमा जान पर्ने बाध्यताको अन्त्य गरिनेछ ।
– खाद्य र दुग्ध कोल्डस्टोरको स्थापना, मलखाद र बिउ र कृषि उपकरणमा अनुदान र प्राविधिक सहयोग तथा कृषि उपजका निम्ति उचित बजार व्यवस्थापन गरिनेछ ।
– जडीबुटी खेती तथा व्यवसायलाई प्रवर्द्धन गरिनेछ ।

जीवनस्तर प्रवद्र्धन
– सम्पूर्ण नगरबासीहरुलाई स्वच्छ र प्रशोधित खानेपानीको व्यवस्था गरिनेछ ।
– सार्वजनिक सौचालय एवं ‘एक घर एक चर्पी’को अभियानलाई सशक्त रूपमा कार्यान्वयन गरी स्वच्छ,सफा सहर निर्माण गरिनेछ ।
– नगरबासीहरुलाई आफ्नो घरआँगनमा रुख रोप्न प्रोत्सहान गर्ने, सार्वजनिक स्थानहरुमा बगैंचा निर्माणमा निजी क्षेत्रसँग साझेदारी गर्ने र अन्य खाली ठाउँहरूमा उप महानगरपालीकाको अग्रसरतामा बृक्षारोपण गरी नेपालगन्जलाई ‘ग्रिन सिटी’ को रूपमा विकास गरिनेछ ।
-हालको भेरी अञ्चल अस्पताललाई आगामी ३ वर्षमा कम्तीमा ३०० शैया, ५ वर्षमा ५०० शैया र १० वर्षमा १००० बेड सहितको मल्टी स्पेसियालिटी रिफरल अस्पतालको रूपमा विकास गरी प्रदेशका साथै देशकै नमुना अस्पताल बनाइनेछ ।
– सामाजिक स्वास्थ्य बिमा कार्यक्रम अनिवार्य रूपमा लागु गर्ने, आर्थिक रूपमा बिपन्नहरुको प्रिमियम नगरपालिकाले व्यहोर्ने गरी स्वास्थ्य सेवा पाउने संविधान प्रदत्त अधिकारको सुनिश्चितता गरिनेछ ।
– आकस्मिक उपचार कोषको स्थापना गरी गरिब, असहाय, विपन्न, घरेलु हिंसा पीडित र असाध्य रोग लागेकाहरुलाई निःशुल्क उपचार वा उपचारमा राहतको व्यवस्था गरिनेछ ।
– जलेका बिरामीहरुको निम्ति पुर्नस्थापना केन्द्र, जन्मजात रूपमा र दुर्घटना वा अन्य कारणले अपाङ्गता भएका व्यक्तिहरूको निम्ति होस्टेल र अन्तिम चरणका क्यान्सरका बिरामीहरुलाई ‘होस्पिस’ को व्यवस्था गरिनेछ ।
– हरेक बालबालिकालाई माध्यामिक तहसम्म निःशुल्क शिक्षाको ग्यारेन्टी गरिनेछ । गरिब–जेहेन्दार तथा सिमान्तकृत वर्गका विद्यार्थीहरूलाई उच्च शिक्षामा छात्रवृत्ति दिइनेछ । व्यावसायिक तथा शीपमुलक शिक्षालाई बढावा गरिनेछ । भेरी प्राविधिक शिक्षालायलाई प्राविधिक महाबिद्यालयको अवधारणामा अघि बढाइनेछ ।
– मदरसाहरुलाई राज्यको मूल प्रवाहको शिक्षा प्रणालीसँग समायोजन गरिनेछ ।
– सहरमा चौबिसै घण्टा निर्वाध रूपमा संविधान प्रदत्त गतिबिधिहरुको अभ्यासका निम्ति चुस्त सुरक्षा व्यवस्था मिलाइनेछ । सो को निम्ति सिसिटिभी क्यामेराद्वारा निगारानी तथा कुनै पनि समय नागरिकका समस्या सुन्ने व्यस्थाको निम्ति हटलाइन सेलको व्यवस्था गरिनेछ ।

सांस्कृतिक बहुआयामिकता
– विभिन्न धर्म, समुदायबीच भाइचाराको सम्बन्धलाई अक्षुण राख्दै सामाजिक सद्भावलाई प्रगाढ बनाइनेछ ।
– ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक (मठमन्दीर, मस्जिद, धर्मशाला, कर्वला लगायत) क्षेत्रर स्थानको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन गरिनेछ ।
– कला र साहित्य र संस्कृतिको जगेर्ना तथा स्रष्टाको सम्मान गर्दै समग्र उत्थान र विकासका लागि अग्रसरता देखाइनेछ ।
– मातृ तथा स्थानीय भाषा, कला र साहित्यको संरक्षण, सम्वर्द्धन गरिनेछ ।
– उप महानगरपालिका क्षेत्र भित्र सार्वजनिक निकायका जग्गाको पहिचान गरी सो को अधिकतम प्रतिफल आउने गरी व्यवस्थापन गरिनेछ ।
– विभिन्न धर्मका धर्मावलम्बी र तिर्थ यात्रुको निम्ति धर्मशाला निर्माण गरिनेछ ।
– नेपालगन्जको पहिचान बनेको टाँगालाई सांस्कृतिक पहिचान दिँदै निश्चित क्षेत्रमा टाँगा मात्र सञ्चालन गरिनेछ । प्रविधिको विकाससँगै आएका नयाँ यातायातको साधनबाट बिस्थापित बनेका परम्परागत टाँगा व्यवसायीलाई वैकल्पिक रोगजारी वा शिपमुलक तालिमको व्यवस्था गरिनेछ ।

सामाजिक न्याय तथा सुशासन
– मेयरको तलबभत्ता सामाजिक कार्यमा खर्च गरिने छ ।
– समाजमा रहेका सबै जात जाति, लिङ्ग, वर्ग, वर्ण, धर्म, समुदायका व्यक्तिहरूलाई राज्यबाट प्रदत्त अधिकारको उपयोगको सुनिश्चितता गरिनेछ ।
– भ्रष्टाचारमा शून्य शहनशिलताको नीति अंगिकार गरिनेछ ।
– राज्यका निकायबाट प्रदत्त सेवाहरूमा तदारुकता रहनेछ ।
– सूचनाको हकलाइ प्रभावकारी बनाइनेछ । सो को निम्ति प्रत्येक वडामा सूचना केन्द्रको स्थापना गरिनेछ ।
– दण्डहिनताको अन्त्य तथा कानुनी शासनलाई प्रभावकारी बनाइनेछ ।
– भौतिक संरचना निर्माण गर्दा अपाङ्गता, महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक,जेष्ठनागरिक, बालबालिका मैत्री बनाइने छ ।
– राज्यका सबै निकायहरुसँगको सहकार्य, समन्वयका आधारमा विकास र निर्माणका कार्यहरू अगाडी बढाइनेछ ।
– लागुऔषध दुरव्यसनीको रोकथाम,पुर्नस्थापना र सेवामुलक रोजगारीको व्यवस्था गरिने छ।
– सम्पूर्ण नगरबासीको अभिलेख राखिनेछ । गरिब परिचय पत्र वा राहतकार्डको व्यवस्थ गरी गरिबीको रेखामुनि रहेकाहरुलाई सुलभ दरमा खाद्यान्न र आवासको व्यवस्था गरिनेछ । छाप्राहरु विस्थापित गरी टिनरजस्ता उपलब्ध गराइनेछ ।
– अशक्त, अपाङ्ग, असहाय, बेरोजगार महिलाका लागि आय आजर्नका कार्यक्रम सञ्चालन गरिनेछ तथा कानुनी समस्या परेकाहरुलाई निःशुल्क कानुनी सेवा प्रदान गरिनेछ ।
– सामाजिक सुरक्षा भत्ता घर–घर मै उपलब्ध गराइनेछ । नगरको आयबाट धान्ने देखिएमा जोखिममा रहेका वर्गलाई आर्थिक सहययता वा अन्य राहत उपलब्ध गराइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 13 =