धरानको सर्दु खोलामा पुल नबन्दा सर्वसाधारणलाई सास्ती (फोटो फिचर)
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
भरतराज शर्मा(गोपाल), धरान । साविक पाँचकन्या गाविस तथा हालको धरान उपमहानगरपालिका ५ जोड्ने बगरकोटमा सेउती खोला माथि पुल बनिसकेको थियो । त्यसपछि, निराजन बस्ती नजिक काठेपुलमा पनि पक्की पुल बन्ने क्रममा छ भने महादेव चोक हुँदै पानबारी जाने बाटोमा पर्ने सेउती खोलामा नयाँ पक्की पुल धमाधम निर्माण हुँदैछ ।
एउटै खोला हो सेउती । जहाँ करिब ८ किलोमिटरको दुरी भित्र एउटा पुल बनिसक्यो भने २ वटा बन्दैछ । विडम्बना, त्यही धरान उपमहानगरपालिकामा गाभिएको अर्को साविक गाविस विष्णुपादुका पुग्ने मुख्य बाटोमा भने अहिलेसम्म पुल बन्न सकेको छैन । जसले गर्दा वर्षातको समयमा सर्वसाधारणहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् वा घुमेर इटहरी हुँदै यात्रा गर्नुपर्ने अवस्था छ । खास गरी चल्तीको धरान चतरा सडकखण्डमा पर्ने सर्दु खोला र विष्णुपादुकाको भञ्ज्याङ जाने सडकमा पुल नहुँदा सर्वसाधारणहरुले धेरै सास्ती भोग्नु परिरहेको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बच्चाको उपचार गरेर घर फिर्दै गरेका बराह नगरपालिका ७, देवीघाटका मनोज गजमेर शुक्रवार ३ घण्टासम्म सर्दु किनारमा रोकिएका थिए । बसमा यात्रा गरिरहेका उनी सर्दुको बाढीमा बस तर्न नसकेपछि सबै यात्रु ओरालेर बस फर्किएको बताए । केही यात्रु जोखिम मोलेर खोला पार गर्दै बारी आउन नसकेको बसमा चढेर गन्तव्यतिर लागे । तर, गजमेर दम्पपित्तले सानो बच्चासहित बाढीमा हेलिएर पार गर्ने हिम्मत गरेनन् । उनीहरू जस्तै अरू थुप्रै सर्वसाधारण एवं यात्रुहरु सर्दु बारी र पारी अलपत्र परेका थिए । ‘सर्दुमा पुल अतिआवश्यक छ, बर्षायाममा हामीलाई सधैँ यस्तै दुःख हुन्छ,’ गजमेरले भने,‘नेताहरूले यता ध्यान दिनुपर्छ ।’
धरान–चतरा सडकखण्डमा पर्ने सर्दु खोलामा अहिलेसम्म पुल निर्माण नहुँदा बर्षायाममा यसरी नै सर्वसाधारणहरुले सास्ती भोग्नु परिरहेको छ । स्थानीय एवं प्रभावित क्षेत्रका बासिन्दाहरुले बषौंदेखि पुल निर्माणको माग गरिरहेपनि सरोकारवाला सरकारी निकायहरूले जनताको समस्याप्रति चासो देखाएका छैनन् । बाढीमा हेलिएर पटनालीबाट धरानतिर आएकी धरान १७ की रुबी राईले भनिन्,‘जनतालाई धेरै दुःख छ, तर कसैले पनि ध्यान दिएन ।’
धरान चतरा बाटो बराह नगरपालिका क्षेत्रका बासिन्दाको लागि चल्तीको बाटो हो । यो बाटो हुँदै कोसी ब्यारेजको विकल्पमा बनेको कोसी पुल हुँदै उदयपुर पनि जान पनि यही बाटो प्रयोग हुन्छ । तर, बर्षातमा भने यो सडकमा यातायात ठप्प हुन्छ । सर्दु खोला पारी पनि धरानको वडा १७ को भाग पर्छ । त्यस क्षेत्रका जनताहरू शिक्षा, स्वास्थ्य, व्यापार लगायतको लागि धरान आउने गर्छन् । चुनावको समयमा नेताहरूले पुल बनाउने भाषण र आश्वासन दिएपनि सर्दुमा हालसम्म एउटा पनि पक्की पुल बन्न सकेको छैन । बराहक्षेत्र, विष्णुपादुका जस्ता प्रसिद्ध धार्मिकस्थल पुग्नलाई पनि खोलाले निक्कै सताउने गरेको छ । साउनमा बोलबम मेला भर्न आउने तीर्थालुहरुलाई चतराबाट पानी ल्याएर आउन सर्दु बाधा बन्ने गरेको छ ।
धरानको वडा १७ का अध्यक्ष मनोज भटराई सर्दुमा पुल केन्द्रीय योजनामा पार्न पहल गर्ने बताउनुहुन्छ् । नगरको बजेटबाट सम्भव नभएकोले पहल गर्न काठमाण्डौं जाने तयारीमा रहेको उनले बताए । पछिल्लो समय धरान चतरा सडकमा पुल बनाउन माटो परीक्षण भइसकेको बताइएको छ भने साविक विष्णुपादुकातर्फ जाने बाटोमा पुल बनाउन डिपिआर तयार भइसकेको छ । तर, पुल निर्माणको लागि केन्द्रीय योजनामा पर्नुपर्ने हुन्छ ।
राजनीतिकर्मीहरुका अनुसार ०४६ सालदेखि अहिलेसम्म स्थानीय जनताले सर्दुखोलामा पक्की पुलको माग निरन्तर गरिरहे पनि पहुँच नपुग्दा सुनुवाइ भएको छैन । यही क्षेत्रबाट २ पटक चुनाव जितेका एमाले नेता भीम आचार्य मन्त्री हुँदा पनि उनको क्षेत्रका जनतालाई राहत पुग्ने गरी सर्दुमा पुल बन्न नसकेनको स्थानीयहरुको गुनासो छ ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)