सरकारको डेढ अर्ब जुवा घरबाट उठ्न सकेन


“
साउन २३, काठमाडौं । सरकारले लामो समयदेखि ८ वटा पुराना बन्द भएका क्यासिनोको बक्यौता रकम उठाउन सकेको छैन । जसका कारण राज्यको १ अर्ब ३४ करोड ३३ लाख ४९ हजार रुपैयाँ गुम्ने खतार बढ्दै गएको छ । २०७१ बैशाखदेखि बन्द भएका ८ वटा क्यासिनोको झन्डै डेढ अर्ब रुपैयाँ बक्यौता उठ्न नसकेको हो । ३ वर्षअघि ६७ करोड रुपैयाँ बक्यौता रहेकोमा जरिवाना र नविकरण शुल्क सहित बक्यौता रकम थपिदैं गएको हो ।
सरकारले २०७० देखि कार्यान्वयनमा आएको क्यासिनो नियमावली अनुसार सञ्चालनमा नआउने तथा बक्यौता तिर्न अटेर गर्ने क्यासिनोहरुलाई बन्द गरेको थियो । क्यासिनोहरुले नियमक निकाय पर्यटन विभागले बक्यौता उठाउन नसकेपछि हाल कुमारी चोक तथा केन्द्रीय तहसिलको कार्यालय पठाएको छ । सबैभन्दा धेरै नेपाल रिक्रियसन सेन्टर प्रालिको मात्रै ५३ करोड ५० लाख ३३ हजार बक्यौता रकम बाँकी रहेको छ ।
त्यस्तैगरी, पोखरामा रहेको दि फुलबारी प्रा. लि. को बक्यौता रकम २४ करोड ६६ लाख ६४ हजार रुपैयाँ रहेको छ । भने, होटल याक एन्ड यति प्रा. लि को ११ करोड ८७ लाख ५० हजार रुपैयाँ बक्यौता रकम बाँकी रहेको छ । हाल बन्द रहेको होटल एभरेष्ट क्यासिनोको १० करोड ८७ लाख ५० लाख रुपैयाँ बक्यौता रहेको छ । भने, होटल मल्लमा रहेको क्यासिनोको १० करोड ६५ लाख ७ हजार रुपैयाँ बक्यौता रकम बाँकी रहेको छ ।
होटल सोल्टी प्रा लि मा रहेको क्यासिनोले ६ करोड १३ लाख ३३ हजार रुपैयाँ बक्याैता रकम तिर्न बाँकी छ । भने, ह्याप्पी आवर प्रालिको ९ करोड ६८ लाख रुपैयाँ, क्यसिनो र्याडको ७५ लाख रुपैयाँँ बक्यौता बाँकी रहेको छ । यसबाहेक हायात रिजेन्सी र सांग्रिला होटलको पुरानो बक्यौता रकम पनि नभएको र अहिले सरकारलाई तिर्नुपर्ने रकम तिरेर नै नियमअनुसार क्यासिनो सञ्चानल भइरहेको पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिए ।
‘विभागले नसकेपछि केन्द्रीय तहसिलको कार्यालयको जिम्मा लगाएका छौ,’ भट्टराईले भने ।
रोयल्टी बुझाउने दायित्वमा विवाद
क्यासिनो नियमावली २०७० नआउँदासम्म कुनै पनि संस्था वा व्यक्तिले क्यासिनो सञ्चालन गर्ने अनुमति लिन पाउँदैन थिए । होटलले नै क्यासिनो सञ्चालन गर्ने इजाजत लिने र संस्थालाई भाडामा दिएर क्यासिनो सञ्चालन गर्ने परिपाटी थियो । जब सरकारले लामो समयसम्म इजाजत लिनेले रोयल्टी रकम नबुझाएपछि क्यासिनो बन्द गर्ने निर्णय गर्दै नयाँ नियमवाली लिएको छ ।
सरकारी अधिकारीहरु घरबेटीले भाडामा बस्नेसँग भाडा लिने र सरकारलाई घरवहाल कर बुझाउने दायित्व भएजस्तै भाडाका क्यासिनो सञ्चालन गर्ने अनुमति दिने होटलले नै पुरानो बक्यौता रकम बुझाउनुपर्ने तर्क गर्छन् । तर होटल संचालकहरु भने भवनको भाडा मात्रै लिएको भनेर उम्किदैं आएका छन् ।
कस्को कति बक्यौता ?
संस्था | रकम |
नेपाल रिक्रियसन सेन्टर | ५३ करोड ५० लाख ३३ हजार |
दी फुलबारी प्रा.लि | २४ करोड ६६ लाख ७४ हजार |
होटल याक एन्ड यति | ११ करोड ८७ लाख ५० हजार |
होटल एभरेष्ट इन्टरेनशनल | १० करोड ३५ लाख ६२ हजार |
होटल मल्ल | १० करोड ६५ लाख ७ हजार |
होटल सोल्टी | ६ करोड १३ लाख ३३ हजार |
ह्याप्पी आवर प्रालि | ९ करोड ६८ लाख |
होटल र्याडिसन | ७५ लाख |
स्रोतः कुमारी चोक तथा केन्द्रीय तहसिलको कार्यालय
“
