रसुवामा पहिरोमा परी चारजना बेपत्ता, चार घाइते

नुवाकोट, साउन २३ । अविरल वर्षासँगै बगेको पहिरोमा परी रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेशीमा एकै घरका चारजना हराइरहेका छन् भने घाइते अवस्थामा चार जनालाई उद्धार गरिएको छ ।

गएराति ९ बजे बस्ती माथिबाट आएको पहिरोमा परी ७२ वषीय धर्मबहादुर थापामगर, उनको बुहारी २८ वर्षीया मुना थापामगर, ३ वर्षीय नाति रबिन थापामगर र उनीहरुको घरमा काम गर्ने सहयोगी ७० वर्षीय भक्तबहादुर नगरकोटी हराइरहेका छन् ।

माथिबाट निरन्तर पहिरो झर्नेक्रम जारी रहेकाले उनीहरुको उद्धारमा पुगेको नुवाकोट र रसुवाको नेपाल प्रहरी र श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको टोलीलाई कठिनाइ भएको छ । पहिरोमा परी अन्य चारजना घाइते भएकामध्ये रुद्र थापामगर र देवकी थापामगरको अवस्था गम्भीर छ ।

चारैजना घाइतेको नुवाकोटको मनकामना शान्तिबजारतर्फ लागेर स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरुलाई उपचारका लागि अस्पताल ल्याउन पहिरोले सडक अवरुद्ध रहेको र आवत–जावतमा समेत कठिनाइ भएकाले सकिएको छैन ।

आइतबार साँझदेखि नै वर्षा भइरहेकाले राति ९ बजे पैरेबेशीस्थित माथिबाट पहिरो आएको स्थानीय बासिन्दाले बताएका छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार वर्षाले रसुवाको लहरेपौवास्थित खाल्डेदेखि नै घटनास्थल पैरेबेशीसम्म पुग्न रसुवा र नुवाकोटको विभिन्न स्थानमा पहिरो बगिरहेकाले उद्धार गर्न थप टोली घटनास्थलमा जान सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *