छिमेकीसँगको सम्बन्धविच्छेदले कतारलाई कस्तो समस्या पर्न सक्छ ?

बिबिसी । साउदी अरब, इजिप्ट, बहराइन, युएइले, लिविया र यमनले छिमेकी खाडी मुलुक कतारसँगको कुटनीतिक सम्बन्ध तोडेपछि कतारमा त्यसको निकै ठूलो प्रभाव पर्नेछ । शत्रु सिया राष्ट्र इरानको प्रशंसा गरेको तथा सुन्नी अतिवादी संस्था ‘मुस्लिम ब्रदरहुड’लाई समर्थन गरेको आरोपमा खाडी राष्ट्रले कतारसँग सम्बन्धविच्छेद गर्ने कदम उठाएका हुन् । अरेवियन प्रायद्वीपको उत्तरपूर्वमा पर्ने २७ लाख मात्र जनसंख्या भएको कतारले क्षेत्रीय तथा विश्व राजनीतिमा आफ्नो सामथ्र्यभन्दा बढी भूमिका पाएको थियो ।

ऊसँग प्रसिद्ध एयरलाइन कतार एयरवेज छ, प्रसिद्ध टेलिभिजन च्यानल ‘अलजजिरा’ छ, अनि सन् २०२२ मा हुने फिफा विश्वकप उसैले आयोजना गर्दैछ । प्रसिद्ध फुटबल क्लब बार्सिलोना समेत उसैको पैसाले चल्थ्यो । विश्वका नामुद बहुराष्ट्रिय निगम समेत कतारमा छन् । तर, पछिल्लो भूराजनीतिक हलचलले कतारका धेरै कुराहरुलाई अनिश्चित बनाएको छ । त्यसको प्रत्यक्ष असर कतार एयरवेजलाई पर्नेछ । साउदी अरेवियाको ‘इतिहाद एयरवेज’ र दुबईको ‘फ्लाई इमिरेट्स’ दुबैले दोहाका लागि उडान रद्ध गरेका छन् । सस्तो उडान भर्ने ‘फ्लाई दुबई’ले कतार भएर कुनै पनि उडान नभर्ने निर्णय गरेको छ । बहराइनको गल्फ एयर र इजिप्ट एयरले पनि त्यस्तै निर्णय लिने अपेक्षा गरिएको छ ।

उनीहरुले कतार एयरलाइन्सका लागि आफ्नो ‘एयर स्पेस’ पनि नदिने निर्णय गरेका छन्। त्यसको प्रत्यक्ष मार कतार एयरलाइन्सलाई पर्ने निश्चित छ । उसले दुबई, आबुधावी, रियाद र कायरोजस्ता स्थानमा उडान भर्न पाउने छैन । त्यति धेरै देशहरूमा ‘एयर स्पेस’ बन्द भएपछि उसले उडानका लागि हवाई मार्गका लागि पनि समस्या हुनेछ । उडान मार्ग बदलिँदा कतार एयरवेजका जहाजहरूले थप घन्टौंसम्म उड्नु पर्नेछ । उडान महँगो पर्नेछ भने उडान लामो हुनेछ। उसले यात्रु संख्या गुमाउने लगभग निश्चित छ ।

कतार एयरलायन्सका साथै छिमेकीसँगको सम्बन्धविच्छेद हँदा कतारलाई आइपर्ने अर्को समस्या खाद्यान्न हो । मरुभूमि राष्ट्रहरूले स्वतः खाद्य सुरक्षाको समस्या हुने गर्छ कतारका लागि अर्को समस्या भनेको जमिनबाट देशमा आउने खाद्यान्यको ठुलो हिस्सा साउदी अरेवियाको एक मात्र बोर्डरबाट आउने गर्छ । प्रत्येक दिन सयौं ट्रक उक्त सीमाबाट कतार छिर्छन् । कतारलाई चाहिने लगभग ४० प्रतिशत खाद्य उक्त सीमाबाट आउँछ । अब कतारले हवाई वा समुद्री मार्गबाट खाद्य ल्याउनु पर्नेछ। त्यसले मुद्रा स्फिर्ति गराउन सक्नेछ जसको प्रत्यक्ष मार सर्वसाधारणलाई पर्नेछ ।

त्यसको अर्थ कतारी राज खानदानले अहिले लिएको विदेश नीतिको बाटो बदल्न दबाब पर्नेछ । अन्यथा त्यसले विद्रोहको अवस्था पनि सिर्जना गर्न सक्नेछ । कतारमा कम आय स्रोत भएका मानिस दैनिक जस्तो सस्तो खाद्यान्न किन्न साउदी अरेविया जान्छन् । अब साउदी अरेबियासँग बाटो बन्द भएपछि उनीहरु मारमा पर्नेछन् । नयाँ घटनाको असर विकास निर्माणमा पनि पर्नेछ । कतारले अहिले एउटा नयाँ बन्दरगाह, अस्पताल क्षेत्र, मेट्रो रेल योजना र ८ वटा रंगशाला निर्माण गर्दैछ । त्यसका लागि स्टिल, सिमेन्ट जस्ता कच्चा पदार्थ समुद्री जहाजबाट मात्र होइन साउदी अरवबाट पनि आउँछ । अब नयाँ घटनाक्रमले खाद्यान्य जस्तै विकास निर्माणमा पनि तीव्र असर पर्न सक्छ । निर्माणमा ढिलाई र योजना मूल्यमा वृद्धि हुनसक्छ ।

बोर्डर र एयर स्पेस लामो समय बन्द भएमा त्यसले विश्वकप तयारीलाई प्रभावित पार्ने खतरा उत्पन्न हुन्छ । यसो भएमा कतारमा श्रम शक्तिको पनि अभाव सिर्जना हुन सक्नेछ । अब साउदी, युएई र बहराइनका मानिसले ढिलोमा १४ दिन भित्र कतार छाडिसक्नु पर्नेछ । कतारीहरूले पनि साउदी र नयाँ देशबाट उक्त समय भित्र देश फर्किसक्नुपर्छ । यदि इजिप्टले पनि त्यस्तै नीति लिएमा कतारलाई झन् ठूलो समस्या पर्नेछ । एक प्रतिवेदन अनुसार १ लाख ८० हजार इजिप्टका नागरिक कतार बस्छन् । उनीहरू इन्जिनियरिङ, कानुनी, मेडिकल र निर्माण कार्यमा संग्लग्न छन् । त्यसले स्वदेशी र विदेशी कम्पनीका लागि श्रम शक्ति अभाव सिर्जना गर्नेछ । पछिल्लो भूराजनीतिको असर व्यापारमा देखिन शुरु भइसक्यो । खाडी मुलुकका धेरै संस्थाहरूले कतारमा व्यापार गर्छन् । स्थितिमा तुरन्तै सुधार नभएमा त्यस्ता व्यापारह अस्थाई रुपले भएपनि बन्द हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =