प्राधिकरणले छुट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम सुरु गर्ने

साउन २२, मकालु खबर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी साउन २६ गतेदेखि दुई चरणमा सम्पन्न हुनेगरी गुनासो फस्र्यौटमार्फत् छुट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम सुरु गर्ने भएको छ । प्राधिकरणले आगामी २६ गतेबाट पहिलो चरण अन्तरगत भूकम्प अतिप्रभावित ८ जिल्लामा छुट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम सुरु गर्ने भएको हो । यसका लागि सर्वेक्षणमा खटिने इन्जिनियरहरुको तीन दिने तालिम पनि आईतबारबाट सुरु भएको छ ।

काठमाडौंमा सुरु भएको तालिममा १ सय ६८ जना इन्जिनियरहरु सहभागी भएका छन । तालिमको उदघाटन गर्दै प्राधिकरणका सदस्य सचिव सर्वजीतप्रसाद महतोले भूकम्प पीडितहरुलाई छिटो र छरितो रुपमा सेवा दिने दायित्व सबैको भएको बताउनु भयो । उहाँले भूकम्पपछिको पुनर्निर्माणको कामलाई छिटो र छरितो रुपमा सम्पन्न गर्न इन्जिनियरहरु पनि जिम्मेवारी हुनुपर्नेमा पनि जोड दिनु भयो । उहाँले निरन्तर पराकम्पले दिएको त्रासका कारण कतिपय ठाउँमा सर्वेक्षणको काम छुट हुन गएको पनि स्पष्ट पार्नु भयो ।

प्राधिकरणले पहिलो चरणमा अति प्रभावित ओलखढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, नुवाकोट, रसुवामा गोरखामा छुट सर्वेक्षण तथा पुनः जाँचको काम सुरु गर्नेछ । दोस्रो चरणमा काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, मकवानपुर र धादिङमा छुट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम सुरु हुने कार्ययोजना पनि तय गरिएको छ । दोस्रो चरणको काममा १ सय ६४ जना इन्जिनियरहरु परिचालन हुने र उनीहरुका लागि आगामी साउन २६ गतेबाट तालिम दिने कार्ययोजना तय गरिएको पनि प्राधिकरणका सदस्य सचिव महतोले जानकारी दिनु भयो ।

प्राधिकरणले आगामी भाद्र मसान्तसम्म सबै गुनासो सम्बोधन हुने गरी छुट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । भूकम्प अति प्रभावित १४ जिल्लामा ८१ हजार ८२ परिवारको पुनः जाँच र ५२ हजार २ सय ८७ जना परिवारको छुट सर्वेक्षण गर्नुपर्ने प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ । प्राधिकरणले पुनर्निर्माणको कामलाई सफल बनाउन पनि सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *