पश्चिमाञ्चल प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

मध्यपश्चिमाञ्चल विरुद्ध सहज जित दर्ता गर्दै पश्चिमाञ्चल राजधानीमा जारी प्रथम प्रधानमन्त्री कप एकदिवसीय पूरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत बिहिबार भएको समूह चरणको अन्तिम खेलमा मध्यपश्चिमाञ्चललाई ९ विकेटले पराजित गर्दै पश्चिमाञ्चल सेमिफाइनलमा प्रवेश गरेको हो ।

एपिएफसँग वर्षाले प्रभावित पहिलो खेलमा पराजित भएको पश्चिमाञ्चलले त्यसपछि मध्यमाञ्चललाई पराजित गरेको थियो । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा मध्यपश्चिमले दिएको ६३ रनको लक्ष्य पश्चिमाञ्चलले ११.१ ओभरमा एक विकेट गुमाएर पुरा गर्यो । पश्चिमाञ्चलका लागि ओपनर अनिल गुरुङ २३ रन तथा नुरध्वज सेन १९ रनमा अविजित रहे । अघिल्लो दुई खेलमा अर्धशतक पुरा गरेको सौरभ खनाल २० रनमा अमरसिंह राउटेलाबाट क्याच एण्ड बोल्ड भए । ८ बल खेलेका सौरभले दुई चौका र दुई छक्का प्रहार गरेका थिए ।

यस अघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मध्यपश्चिमले खराव प्रदर्शन गर्दा २३ ओभरमा ६२ रन बनाएर अलआउट हुन पुगेको थियो । मध्यपश्चिमका तीन ब्याट्सम्यान सुवेन्दु पाण्डे, राजविर सिंह र अमर सिंह राउटेलले समान १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान पश्चिमाञ्चलको कसिलो बलिङ सामु निरिह देखियो । राजविर १३ रनमा अविजित रहे । प्रज्वल शाही र आकाश विष्ट समान ९–९ रनमा आउट भए भने ६ ब्याट्सम्याले रनको खाता नै खोल्न सकेनन् । मध्यपश्चिमलाई सस्तैमा समेट्न ‘म्यान अफ दि म्याच’ बनेका विपिन खत्री र लाल अधिकारीले समान ४–४ विकेट लिए । कृष्ण कार्कीले आफ्नो नाममा दुई विकेट  लेखाए ।

जितपछि पश्चिमाञ्चल समूह ‘ए’ मा चार अंक सहित शीर्ष स्थानमा छ । दुई खेल खेल्न बाँकी रहेको नेपाल एपिएफ क्लबले मध्यपश्चिम र मध्यमाञ्चलसँग खेल्न बाँकी छ । दुवै खेल जिते एपिएफ समूह विजेता र पश्चिमाञ्चल समूह उपविजेता बन्नेछन् । मध्यपश्चिम र मध्यमाञ्चलको समान एक–एक अंक छ । समूह ‘बी’ बाट त्रिभुवन आर्मी समूह विजेता र नेपाल पुलिस क्लब समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ।

प्रतियोगितामा तीन विभागीय सहित आठ टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, मध्यमाञ्चल बिकास श्रेत्र, मध्यपश्चिमाञ्चल बिकास क्षेत्र र पश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् । यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पूर्वाञ्चल बिकास क्षेत्र र सुदुरपश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् । समूह ‘बी’ बाट आर्मी र पुलिस सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक लिग खेलमा जित्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिजले एक लाख रुपैया र उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + five =