कम्युनिस्टले मुलुकमा तानाशाही शासन लाद्न खोज्दै : प्रधानमन्त्री देउवा

मङ्सिर ९, रामपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कम्युनिष्टवादीले तानाशाही शासन लाद्न खोजेको आरोप लगाएका छन् ।

पाल्पाको रामपुरमा आज नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले मुलुकमा कम्युनिष्टवादीले शासन गरेर एकदलीय तानाशाही ल्याउन खोजेका छन् तर यसलाई नेपाली जनताले कदापि स्वीकार गर्ने छैनन्, उनले भने । कम्युनिस्टको एकदलीय शासनले जनतालाई सधैँ डर र त्रासमा राख्ने हुँदा लोकतान्त्रिक पाटी नेपाली काँग्रेसलाई विजय गराउन उनले आग्रह गरे । मुलुकको शान्ति र समृद्धिका लागि काँग्रेसको नेतृत्व जरुरी रहेको उनको भनाइ थियाे ।

प्रधानमन्त्री देउवाले निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको काम, छिटो सम्पन्न गर्ने र स्तरोन्नति हुन नसकेको रामपुर अरुणखोलाका सडक निर्माण गर्ने कामलाई तदारुकता दिने प्रतिबद्धता समेत जनाए । सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठनबन्धनको कुनै पनि हालतमा औचित्य नभएको बताउँदै लोकतन्त्रभन्दा पछाडि देश फर्किन सक्दैन भन्ने तर्क राखे ।

निमुखालाई न्याय र विपन्नलाई आय दिने, बेरोजगारलाई रोजगार र आम्दानी गरी मुलुकमा अर्थतन्त्रको विकासका लागि काँग्रेसले मात्र काम गर्ने नेता पौडेलले बताए । आमसभामा पाल्पा क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार विजयराज घिमिरे, प्रदेशसभा (क) का उम्मेदवार देवराज ढकाल, महासमिति सदस्य रमणबहादुर थापालगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =