बाढीले बेत्रावतीको झोलुङ्गे पुल बगाएपछि स्थानीयहरुको चिल्ली बिल्ली

नुवाकोट, २१ साउन । अबिरल वर्षाका कारण फलाखु खोलामा आएको बाढीले नुवाकोट र रसुवा जोड्ने ऐतिहासिक महत्व बोकेको झोलुङ्गे पुल बगाएको छ ।

बाढीले पुल बगाएर जमिन कटान गरेपछि एकदर्जनभन्दा बढी घर जोखिममा परेका छन् । फलाखु खोलामा शुक्रबार राति आएको बाढीले नुवाकोट तर्फको जगमा क्षति पु¥याएपछि पुल बगाएको हो ।

नुवाकोटको साविक गेर्खु– ९ र रसुवाको लहरेपौवा– १ स्थित बेत्रावतीमा रहेको सो झोलुङ्गे पुलको जगको पिल्लरमा बाढीले क्षति पु¥याएपछि नुवाकोटतर्फ पुलको संरचना चुडिएको हो । झोलुङ्गे पुल बगाए पनि नजिकै पक्की पुल भएकाले दुई जिल्लाको आवतजावत कायमै रहेको बेत्रावतीमा क्रियाशील गोसाईंकुण्ड युवा क्लबका कोषाध्यक्ष शशी डंगोलले जानकारी दिए ।

स्कटल्याण्ड सरकारबाट नेपाललाई तीनवटा पुल निर्माणमा पु¥याएको सहयोग कार्यक्रममार्फत विस २००४ मा निर्माण भएको उक्त पुलले नेपाल र चीनबीचको पद्मार्गको सम्पर्क विस्तारमा सहयोेग पु¥याएको थियो ।

यो पुल रसुवा जिल्लालाई बाहिर जिल्लासँग जोड्ने पहिलो पुल हो । उक्त पुलको निर्माणपछि रसुुवाको रसुवागढी हुँदै चीनको केरुङ बजारसम्मको व्यापार फस्टाएको थियो ।

बाढीले पुलको जग बगाएर जमिन कटान गरेपछि गेर्खु– ९ का विष्णुबहादुर डंगोल, पूर्णलाल डंगोल, चन्द्रबहादुर डंगोल, कान्छी केसीलगायत एक दर्जनभन्दा बढी घर जोखिममा रहेको छ ।

पहिरोले घर बगाउन थालेपछि तीन घरधुरी विस्थापित

महाकालीस्थित कुखुेरमा गएको पहिरोले तीन घरपरिवारलाई विस्थापित बनाएको छ । शिवपुरी गाउँपालिका– ५ साविक महाकाली गाविस– ८ कुखुेरका देवीबहादुर थापा, उनका छोरा लेखबहादुर थापा र छिमेकी गंगाबहादुर थापाको घर पहिरोका कारण जोखिममा परेका हुन् । उनीहरुले तलबाट बग्दै आएको पहिरोले घर नै बगाउन थालेपछि सुरक्षित स्थानमा स्थान्तरण तथा आवास व्यवस्थापनको माग गरेका छन् ।

गएको असार महिनामा घरभन्दा तल हुँदै अव्यवस्थित रुपमा गरिएको सडक विस्तारका कारण पहिरो जाँदा उनीहरुको घर जोखिममा परेका हुन् । पहिरोले तीनवटै घरको आगन बगाएको छ भने घरको जगसमेत चर्केर बग्ने अवस्थामा पु¥याएपछि घर छाडेर उनीहरु शुक्रबारदेखि अन्यत्र बस्न थालेका छन् ।

शिवपुरी गाउँपालिकाको केन्द्र रहेको स्थान शेराबगरबाट डाँडाकटेरी–चालिसे– कुखुरे– नेपाने– मानेभञ्याङ हुँदै राउतवेँशीसम्म पुग्ने सडकको प्राविधिक जाँच नगरी जथाभावी सडक विस्तार भएकाले पहिरो बगेर बस्ती जोखिममा पु¥याएको पीडित देवीबहादुर थापाले बताए ।

पछिल्लो दिनमा जारी रहेको अबिरल वर्षाले सडक विस्तार गरेको स्थानबाट बगेको पहिरोले देवीबहादुरको गोठ बगाएर घरको जगको धाँजा फाटेपछि सुरक्षित स्थानमा स्थानन्तरणको व्यवस्था मिलाउन उनीसहित तीनवटै घरपरिवारले शिवपुरी गाउँपालिकाको कार्यालयमा निवेदन दिएका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *