हेटौडा अस्पतालमा अस्पताल प्रमुखहरुको दादागिरी
“
साउन २०, मकालु खबर । विभिन्न समस्यै समस्याले जेलिएको हेटौडा अस्पतालमा अस्पताल प्रमुखहरुको दादागिरी चल्ने गरेको छ । अस्पतालका मेसु देखि अध्यक्ष सम्मले कर्मचारीलाई डर, धम्की देखाएर जागिरबाट निकाल्ने सम्मको चेतावनी दिने गरेको अस्पतालका कर्मचारीहरुले बताएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सर्बेश शर्मा, अस्पतालका अध्यक्ष रमेश गिरि, अहेव अनन्त बास्कोटा लगायतले अस्पतालका कर्मचारीलाई सधैँ थर्काउने, गाली गर्ने, मन्त्रालय सम्मको पहुच छ, जे पनि गर्न सक्छु भनी धम्काउने गरेको कर्मचारीहरूको गुनासो छ ।
अस्पतालमा हुने गरेको विभिन्न आर्थिक चलखेल र कर्मचारीलाई धम्काउने गरेको कुरा बाहिर आएपछि नेपाल राष्ट्रिय उपभोक्त अधिकार मञ्च , शिवसेना नेपाल मकवानपुर र हिन्दु टाइगर ग्रुप हेटौडाले अस्पताल प्रशासनसँग राखेको छलफल कार्यक्रममा अस्पताल समितिका सम्पूर्ण कर्मचारी सबैले आफूहरुलाइ सधैँ दबाब र तनाव दिने गरेको गुनासो पोखेका थिए ।
छलफल कार्यक्रममा अस्पताल प्रशासनका कुनै पनि कर्मचारी उपस्थित भएनन् अघिल्लो दिन नै छलफल कार्यक्रमको बारे जानकारी गराएर समय लिएको भए पनि कार्यक्रममा कोही उपस्थित नभएको नेपाल राष्ट्रिय उपभोक्त अधिकार मञ्च नारायणी अञ्चल संयोजक अमीर नकर्मीले बताउनुभयो । विगत ४-५ महिना देखि डा. सर्वेस शर्मा र अध्यक्ष रमेश गिरी आएपछि उनले पनि सधैनै कर्मचारीलाई अभद्र व्यवहार गर्ने गरेको हेटौडा अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो । आफूलाई सर्वेस शर्माले बाटो ढुकेर कुट्ने देखि हेटौडा छाडेर जानु पर्ला सम्मको धम्की दिएको श्रेष्ठले बताउनुभयो ।
युनियनका उपाध्यक्ष हिरा लामाले पनि मेसु र अध्यक्षले अस्पताल विकास समितिका सम्पूर्ण कर्मचारीलाई बिनाकाममा डर देखाउने, धम्काउने गरेको बताउँछन् । अस्पतालका फजिल दरबन्दीका अहेव अनन्त बास्कोटाले अस्पतालको स्टोर कक्षमा बसेर हालीमुहाली गर्ने, प्रशासनको नीति-नियम आफै बनाएर सम्पूर्ण फर्जी कागज बनाउँदै आर्थिक चलखेल गर्ने गरेको लामाको आरोप छ । उता हेटौडा अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष रमेश श्रेष्ठ अस्पतालका हाकिमको ज्याद्दतिले हद नाघेपछी आफूले राजीनामा दिन लागेको बताउछन् । अन्य ५४ जना अस्पतालका कर्मचारी पनि उनैको समर्थनमा उभिएका छन् ।
सम्पूर्ण कर्मचारीका अनुसार अस्पताल भित्र ठुलै चलखेल हुने गरेको देखिन्छ । महंगा सामानहरू खरिद गर्ने तर त्यसको उपयोग नगर्ने, आफू भन्दा माथिल्लो तहको कोही डाक्टर ल्याउन नचाहने, कसैले उनीहरूले गरेको गलत कामको विभिन्न कुराहरू बाहिर ल्याउन खोजे धम्काउने आदि क्रियाकलाप हुनु अस्पताल प्रशासनको मनपरी-तन्त्र हो । डा. सर्वेस शर्माले आज भन्दा ३ महिना अगाडी भष्ट्राचारको कुरो खोतल्दा मेरो बाउले जतिनी पैसा कमाएर राख्देका छन् २-४ रुपैयाको लोभ छैन भएका थिए । तर यहाँ कर्मचारीका अनुसार अस्पताल निकै घाटामा जाँदा पनि उनले १००% नै भत्ता खाइरहेका छन् । यसरी अस्पताल जस्तो निकै संवेदनशील ठाउँमा अनियमितता र आर्थिक चलखेल जस्तो घिनलाग्दो कुरा भइरहेको छ भनी कर्मचारी सबैको मुखबाट सुन्नमा आउनु निकै लाजमर्दो कुरो हो । यसबारे तत्काल छानबिन गरी कारबाही गर्नु पर्दछ ।
प्रशासनमा अहेवको हालीमुहाली
कर्मचारीका अनुसार अस्पताललाई डुबाउन खोज्ने र पहुजको आधारमा धम्की देखाउने, सबै कागजपत्र फर्जी बनाउने, अहेव अनन्त बास्कोटालाई कारबाही नगरे सम्म हेटौडा अस्पतालको विभिन्न समस्या समाधान हुँदैन । फजेल दरबन्दीका अहेव अनन्त बास्कोटा अहिले प्रशासनमा हालिमुहाली गरेर बसिरहेका छन् । आफ्नो काम के हो त्यही मात्र गर्नका लागि २१ दिने पत्र धेरै दिन अघि काटेपनि उनी आज सम्म पनि अटेर गरी बसिरहेको नेपाल राष्ट्रिय उपभोक्त अधिकार मञ्च नारायणी अञ्चल संयोजक अमीर नकर्मी बताउनुहुन्छ ।
यस बारे हामीले हेटौडा अस्पतालको प्रशासनमा बुझ्न खोज्दा कोहीपनि सम्पर्कमा आउन चाहेनन् । यसरी अस्पताल भित्रकै कर्मचारीबाट यति बिघ्न कुराहरू निस्किनु निकै दुखको कुरो हो । निम्न आयस्रोत भएका, गाउँ-गाउँबाट बिरामी चेकजाच गर्न आउने हेटौडा अस्पतालमा भष्ट्राचार, अनियमितता, स्रोत-साधनको अभाव, बिरामीलाई सास्ती दिने खालका क्रियाकलाप गर्ने गराउने जो कोहीलाई पनि तत्काल कारबाही गरिनु पर्छ ।
साभार : हेटाैडा खबर
“