अब पहिरो नझरे नारायणगढ-मुग्लिन सडक बेलुकासम्म खुल्ने

किशोर खनाल, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोका कारण अवरुद्ध भएको सडक अझै सञ्चालनमा आउन सकेको छैन । साना ठूला गरी १५ स्थानमा पहिरो खसेपछि अवरुद्ध भएको सडक अहिलेसम्म नखुल्दा सयौँ गाडी जाममा छन् । यात्रुहरु अलपत्र परेका छन् ।

रातको समयमा पहिरो पन्छाउने काम गर्न नसकिएको तर शुक्रबार बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले बताउनुभयो । पानी नपरे शुक्रबार बेलुकासम्ममा पहिरो पन्छाउन सकिने उहाँले बताउनुभयो ।

पहिरोका कारण सडकको बिच खण्डमा परेका गाडीलाई सुरक्षित स्थानमा राखिएको छ । पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाई भएको जानकारी दिँदै नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले पहिरो पन्छाउन लोडर र एक्साभेटर गरी पाँच वटा साधन प्रयोग गरिएको बताउनुभएको छ ।

गएको बुधबार बेलुका कालिखोला नजिकै तीन किलोमा पहिरो खस्दा काठमाडौंबाट इलाम जान आउँदै गरेको ना ६ ख ७१२१ नम्बरको यात्रुवाहक बस र बा १५ च ९३८१ नम्बरको स्करपियो पुरिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *