भरतपुर–१९ मा आज मतदान : उम्मेदवार माओवादी र एमालेका, भर कांग्रेस मतदाताको

काठमाडौं, साउन २० । भरतपुर महानगरपालिका–१९ मा शुक्रबार पुनः निर्वाचन हुँदै छ । पहिलो चरणअन्तर्गत भएको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि गणना स्थगित गरिएको थियो । निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि शुक्रबार निर्वाचन हुन लागेको हो ।  आजको नयाँ पत्रिकामा खबर छ ।

मेयरका लागि माओवादी केन्द्र–कांग्रेस गठबन्धनका तर्फबाट रेणु दाहाल र एमालेबाट देवी ज्ञवाली मैदानमा छन् । महानगरका जम्मा २९ मध्ये २७ वडाको परिणाम आइसकेको छ । वडा नम्बर १९ मा शुक्रबार मतदान भएपछि वडा नम्बर २० को मत पनि एकैचोटि मतगणना हुनेछ ।

६ वटा मतदान केन्द्र
भरतपुर–१९ मा तीन मतदानस्थलमा ६ वटा मतदान केन्द्र छन् । किरण मावि, किरणगन्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जनगरमा एक हजार ३०६ र शारदानगर मावि बखानपुरमा एक हजार २४३ गरी कुल तीन हजार ७९७ मतदाता छन् । मतदान अधिकृतसहित ३६ कर्मचारी खटिएको मतदानस्थलको सय मिटरवरपर निषेधित क्षेत्र घोषणा गरिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए ।

 तीन पार्टीका केन्द्रीय नेता चितवनमा
निर्वाचन आफ्नो पक्षमा पार्न प्रमुख दलका केन्द्रीय नेताहरू चितवन केन्द्रित भएका छन् । कांग्रेस केन्द्रीय नेताहरू डा. प्रकाशशरण महत, बालकृष्ण खाण चितवनमै छन् । सर्वोच्चको आदेश आएको भोलिपल्टै नेता अर्जुननरसिंह केसी चितवन आएर फर्किए । चितवनकै सांसद रामकृष्ण घिमिरे पनि जिल्लामा खटिएका छन् ।

त्यस्तै, एमाले उपाध्यक्ष भीम रावल र नेता सुरेन्द्र पाण्डे निर्वाचनका लागि चितवनमा खटिएका छन् । रावल बिहीबार बिहान मात्र चितवन आइपुगेका हुन् । दुई नेताका साथै चितवनकै काशीनाथ अधिकारीलगायतका नेताहरू निर्वाचनमा खटिएका छन् । माओवादी केन्द्रका नेता अमिक शेरचन, चित्रबहादुर श्रेष्ठ र नारायण दाहालको टोली पनि चितवनमै खटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *