जटीबुटीको व्यावसायिक खेती

इलाम, १९ साउन । जिल्लामा जडीबुटी विकास कार्यक्रम लागू भएपछि उत्तरी क्षेत्रका बासिन्दा जडीबुटी खेतीमा सक्रिय भका छन् । वन मन्त्रालय अन्तर्गत जिल्ला वन कार्यालयको अनुदान सहयोगमा गत वर्ष नयाँबजार, प्याङ, सुलुबुङ, पुवामझुवा, माईपोखरी, जोगमाई, जमुना, माईमझुवा र मावुमा सो कार्यक्रम सञ्चालन भएको थियो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा जडीबुटीको माग बढेपछि जडीबुटीको व्यावसायिक खेतीका लागि गत वर्षदेखि सो कार्यक्रम लागू गरिएको थियो । सामुदायिक वन, स्थानीय निकाय र जिल्ला वन कार्यालयले ग्रामीण क्षेत्रका किसानको घरदैलोमा जनचेतना अभिवृद्धि गर्दै व्यावसायिक जडीबुटी खेतीको कार्यक्रम अघि बढाएको जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठ बताउनुहुन्छ ।

वन कार्यालयका प्राविधिक किसानकै घरदैलोमा पुगेर हावापानी र माटो सुहाउँदो जडीबुटी खेतीका लागि प्राविधिक सेवा दिँदै आएका छन् । उच्च पहाडी र लेकाली क्षेत्रमा सम्भाव्यता अध्ययन गरी जडीबुटी विकास कार्यक्रम लागू गरिएको हो । खाद्यन्न बाली नहुने वन क्षेत्र, सिँचाइ नपुुगेको जमिनको उपयोग गरी उत्पादकत्व अभिवृद्धि गर्दै स्थानीयस्तरमा आयआर्जनका अवसर सिर्जना गर्नु जडीबुटी विकास कार्यक्रमको उद्देश्य रहेको श्रेष्ठको भनाइ छ ।

जडीबुटी विकास कार्यक्रमतर्फ चिराइतो र लौठसल्ला खेती विस्तारका लागि रु ५० लाख, जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि रु १० लाख र अनुगमन कार्यक्रमअन्तर्गत रु तीन लाख ५० हजार बजेट उपलब्ध भएको छ । आर्थिक अवस्था कमजोर भएका किसान, सामुदायिक वन उपभोक्ता समिति, जडीबुटी प्रशोधन गर्ने उद्यमी र सहकारी संस्थालाई लक्षित गरी जडीबुटी विकास कार्यक्रम सञ्चालन गरिएको हो ।

नयाँबजार, प्याङ, सुलुबुङ, पुवामझुवा, माईपोखरीमा चिराइतो तथा जोगमाई, जमुना, माईमझुवा, मावु, माईपोखरीलाई लौठसल्लाका लागि छनौट गरिएको छ । वन कार्यालयको सहयोगबाट आठ किसानले १५/१५ रोपनी क्षेत्रफलमा तीन लाख ३८ हजार ४०० चिराइतोको बिरुवा रोपेका छन् । लौठसल्ला पकेट क्षेत्रअन्तर्गत २४ किसानले ४४३ रोपनी क्षेत्रफलमा ३५ हजार १५४ लौठसल्लाका बिरुवा रोपेका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *