प्यूठानमा कस्सिए पूर्व सिइओ पोख्रेल, ४१ हजार मतले दुर्गा अगाडि

कात्तिक २३, प्यूठान । राष्ट्रिय पुननिर्माण प्राधिकरणका पूर्व सिइओ डा. गोविन्द पोखरेल चुनावी मैदानमा उत्रिएको जिल्ला प्युठान यतिबेला विशेष चर्चामा छ । कांग्रेसको तर्फबाट पुननिर्माण प्राधिकरणको सिइओ पदबाट राजीनामा दिएर मैदानमा उत्रिएका डा. पोख्रेल र वाम गठवन्धनकै साझा उम्मेदवारको रुपमा चर्चित वामपन्थी नेता मोहनविक्रम सिंहकी श्रीमती दुर्गा पौडेलबीचको चुनावी भिडन्तले प्यूठान चर्चाको चुलीमा पुगेको हो । वामपन्थीहरुको गड मानिने प्युठानमा पोखरेल भन्दा दुर्गा पौडेल ४१ हजार मतले अगाडी देखिन्छिन् ।
प्यूठान जिल्लाले लामो समयदेखि आफूलाई संघर्षशील र लालकिल्लाको रुपमा आफूलाई स्थापित गर्दै आएको छ । करीव ८० प्रतिशत वामपन्थी मतदाता रहेको प्यूठानले नेपाली राजनीतिका चर्चित हस्तीहरु मोहनविक्रम सिंह, मोहन वैद्य, वामदेव गौतम, लीलामणि पोख्रेललगायतका नेताहरुलाई जन्माएर गर्व गर्दै आएको छ । यी वामपन्थी नेताहरुको ऐतिहासिक विरासत थाम्दै चुनावी मैदानमा भिड्ने सौभाग्य प्राप्त गरेकी छिन्, दुर्गा पौडेलले । ठूलै लाभको पद त्यागेर चुनावी मैदानमा उत्रिएका डा. पोख्रेललाई भने कांग्रेसको मत कसरी सुरक्षित गर्ने भन्ने चिन्ता छ ।
पुराना र चर्चित नेता मोहनविक्रम सिंहले प्यूठानमा २०१० सालमा कम्युनिष्ट पार्टीको स्थापना गरेका हुन् । त्यसयता २०१५ सालको आमनिर्वाचनमा सिंह स्वयं उम्मेदवार बनेका थिए तर झिनो मतान्तरले पराजित भएका थिए । २०४८ सालमा सम्पन्न आमनिर्वाचनलाई नेकपा ९मसाल०ले बहिष्कार गरेकाले प्यूठानका दुबै क्षेत्रमा कांग्रेस विजयी भएको थियो । २०५१ सालको निर्वाचनमा क्षेत्र नं। १ मा कांग्रेस र २ मा मसालका उम्मेदवारहरु विजयी भएका थिए । २०५६ को आम निर्वाचनमा एमालेसँगको तालमेलमा दुबै क्षेत्र राष्ट्रिय जनमोर्चाले विजय हासिल गरेको थियो । २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी र २०७० को संविधानसभा निर्वाचनमा एमालेले दुबै क्षेत्रमा विजय हासिल गरेका थिए ।
अन्य जिल्लाहरुमा जस्तै प्यूठानमा पनि पछिल्लो जनादेश स्थानीय तह निर्वाचन नै हो । प्यूठानका ९ वटा तहमध्ये नेपाली कांग्रेसले माओवादीसँगको गठबन्धनमा १ र एक्लै २ गाउँपालिकामा विजय हासिल गरेको थियो । त्यस्तै, एमालेले एक्लै १ नगरपालिका र दुई गाउँपालिका जितेको थियो । राष्ट्रिय जनमोर्चाले दुई गाउँपालिका र माओवादी केन्द्रले १ नगरपालिकामा विजय हासिल गरेका थिए ।
जिल्लाका ९ वटै तहमा एमालेले २७ हजार ८ सय ३७, कांग्रेसले २३ हजार २ सय ८२, राजमोले १८ हजार ५ सय ८९ र माओवादी केन्द्रले १७ हजार ८ सय ७९ मत प्राप्त गरेका थिए । स्थानीय तह निर्वाचनमा दलहरुले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने प्यूठानमा वाम गठबन्धनको कूल मत ६४ हजार ३ सय ५ रहेको छ । उता, नेपाली कांग्रेसको मत २३ हजार २ सय ८२ देखिन्छ । यसरी हेर्दा डा। पोख्रेलभन्दा दुर्गा पौडेल ४१ हजार २३ मतले अगाडि देखिन्छन् । डा। पोख्रेलजस्तो बौद्धिक र हाइप्रोफाइल व्यक्तित्व मैदानमा उत्रिएपछि केही मत बढ्नसक्ने तर जित असम्भव रहेको विश्लेषकहरु बताउँछन् ।
यता, वाम गठबन्धनले प्रदेशसभामा ९क० मा एमालेका हरि रिजाल र ९ख०मा माओवादी केन्द्रका कृष्णध्वज खड्कालाई मैदानमा उतारेको छ । त्यस्तै नेपाली कांग्रेसले ९क० मा टेकप्रसाद भण्डारी र ९ख० मा जिल्ला सभापति अमरप्रसाद भण्डारीलाई चुनावी मैदानमा उतारेको छ ।








