भरतपुर १९ को यस्तो छ सुरक्षा व्यवस्था

किशोर खनाल, भरतपुर । भोलि २० गते शुक्रबार हुने भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । सुरक्षा व्यवस्थादेखि मतदान केन्द्रमा कर्मचारी खटिनेसम्मको सम्पूर्ण तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । वडा नम्बर १९ मा हुन लागेको निर्वाचनलाई भयरहित बनाउन सुरक्षा व्यवस्थादेखि सम्पूर्ण तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

‘निर्वाचनको लागि सुरक्षा व्यवस्थालाई मजबुद पारिएको छ, सुरक्षाकर्मीहरु वडा नम्बर १९ मा खटिसकेका छन्’ प्रमुख जिल्ला अधिकारी भट्टले भने, ‘२० गते वडा नम्बर १९ लाई पूरा सिल गरिन्छ । चुनावको दिन त्यो वडामा गाडीहरु चल्न दिइनेछैन ।’ उनले एकदम भयरहित वातावरणमा मतदातालाई मताधिकारको प्रयोग गर्ने वातावरण मिलाइएको बताए ।
‘वडा नम्बर १९ का मतदाताले पहिलेजसरी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ढुक्क भएर आफूले रोजेको उम्मेदवारलाई भोट हाल्न सक्नेछन्’ प्रजिअ भट्टले भने, ‘कुनै किसिमका अप्रिय घटना घट्न नदिन सुरक्षा व्यवस्थालाई तैनाथ गरिएको छ । सयौँको संख्यामा प्रहरी परिचालन गरिएको छ ।’

वडा नम्बर १९ मा २० गते चुनावको मिति घोषणासँगै मौन अवधि सुरु भएको छ । कुनै किसिमको प्रचारात्मक कामहरु गर्न पाइने छैन । भरतपुर १९ को सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सेनासमेत परिचालन हुने बताइएको छ । सुरक्षा अवस्थालाई बलियो बनाउन प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षाकर्मी परिचालन हुनेछन् ।

भरतपुर १९ नम्बरमा ३ वटा मतदान स्थल र ६ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालय भरतपुरका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । यस वडामा ३ हजार ७९७ मतदाता रहेका छन् । वैशाख ३१ गते यस वडामा २ हजार ८८७ मत खसेको थियो । ६ मतदान केन्द्र भएको हुनाले यस वडामा चुनावको दिन ६ जना मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिनेछन् । ‘एउटा मतदान केन्द्रमा एक उपसचिव तहका मतदान अधिकृतसहित ६ जना कर्मचारीलाई खटाइएको छ’ सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले भने ।

घिमिरेका अनुसार मतदानअधिकृतहरु मतदान केन्द्रमा पुगिसकेका छन् । मतदान केन्द्रमा मतदान अधिकृतहरुले केन्द्रको १०० मिटर वरपर निषेधित क्षेत्र तोकिसकेका छन् । ‘आज बिहीबार मतदान अधिकृतहरुले सवदलीय बैठक राखेर मतदान गर्नको लागि सहजताको बाटो खोज्नेछन्’ सहायक मतदान अधिकृत गम्भीर घिमिरेले भने, ‘निर्वाचन अधिकृतको कार्यालयले गर्ने सम्पूर्ण काम पूरा भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *