पाकिस्तानमा बस दुर्घटनामा २२ को मृत्यु

इस्लामाबाद । पाकिस्तानको एट्टोक जिल्लामा बुधवार राति भएको बस दुर्घटनामा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । बस सडकबाट खाल्डोमा खसेका कारण २२ जनाको ज्यान गएको र अन्य ५१ जना यात्रु घाइते भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

पञ्जाव प्रान्तको एट्टोक जिल्ला अन्तर्गत पर्ने धोक पठान क्षेत्रमा स्थानीय समय अनुसार राती १० बजेतिर दुर्घटना भएको प्रहरीको भनाई छ । स्थानीय बासीन्दा, प्रहरी र उद्धारकर्ताहरुले घाइतेहरुलाई अस्पताल पुर्याएका छन् भने दुर्घटनास्थलबाट शवहरु बाहिर निकालेका छन् । मृतकमध्ये १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
अहिले पनि केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या बढ्न सक्ने अस्पतालका अधिकारीहरूले बताएका छन् । प्रान्तीय राजधानी लाहोरमा हुन लागेको धार्मिक सभामा सहभागी हुन एउटै बसमा ८२ जना यात्रु जादै गरेका थिए ।
बसमा धेरै यात्रु र तीव्र गतिका कारण बस चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ । एजेन्सी








