सर्वोच्चमा बम राखेको हल्ला पछि इजलास प्रभावित

मंसिर ५, काठमाडौं । सर्वाेच्च अदालतमा मंगलबार मध्यान्न १२ बजेर १० मिनेटमा एकजनाले फोन गरे । फोन गर्ने ति व्यक्तिले भने – ‘अन्तै राख्ने बम झुक्किएर सर्वोच्च अदालतमा राखिएछ । साढे १२ बजेका लागि टाइम बम फिट गरिएको छ । होस गर्नुहोला है ।’

उक्त फोन सर्वोच्चका शाखा अधिकृत नितिज राइले उठाएका थिए । राई प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको सचिवालयमा कार्यरत छन् ।

११ बजेतिर सर्वोच्चले दैनिक पेशी सूची निकाल्छ । १२ बजेतिर सर्वोच्च भिडभाडमा हुन्छ । किनकी त्यहाँ भर्खरै इजलासहरु बसेका हुन्छन् । वा इजलास वस्ने तयारी गरिएको हुन्छ । व्यस्त समयमा यस्तो फोन आएपछि राई अतालिए ।

राइले तत्कालै सर्वोच्चका रजिष्टारलाई फोन बारे खबर गरे । रजिष्टारले खबर पाउना साथ त्यो खबर प्रधान न्यायाधीशलाई रिले गरे । प्रधानन्यायाधीशले सम्पूर्ण इजलासहरु स्थगित गरेर प्राङगणमा झर्न सबै कर्मचारीलाई आग्रह गरे । अरु कर्मचारीलाई पनि भूइँमा आउन आग्रह गरियो ।

अहिले सर्वोच्चको प्रांगणमा कर्मचारी तथा अधिवक्ताहरु तितरबितर भएका छन् । साढे १२ बजे बम पड्किने सूचना आएको भएपनि बम चाहिँ पड्किएको छैन । रजिष्टारले उक्त कुराको जानकारी सर्वोच्चमै रहेको प्रहरीलाई गराएपछि प्रहरीले अहिले बम खोज्ने काम गरिरहेको छ ।

सर्वोच्च अदालतमा रहेको प्रहरी युनिटले सुँघेर बम पत्ता लगाउने दुईवटा कुकुर परिचालन गरी बम खोज्ने कोशिश गरिरहेको छ । बम अझै भेटिएको छैन । बमको बारेमा जानकारी गराउने व्यक्तिको परिचय समेत खुल्न सकेको छैन । उनले आफू विप्लव समूहको कार्यकर्ता भएको चाहिँ फोनमा बताएको सर्वोच्च अदालतले जनाएको छ ।

राइलाई फोन आउँदै गर्दा यस्तै प्रकृतिका थप दुई वटा फोन सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीलाई पनि आएका थिए । फोन आएपछि सर्वोच्चले सत्य तथ्य पत्ता लगाउने कोशिश गरिरहेको छ । अहिले इजलासहरु स्थगित गरिएको छ । सबै कर्मचारीहरु समेत प्रांगणमा निस्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =