बैतडीमा २२ भैँसीले सुत्केरी भत्ता पाए

बैतडी, साउन १८ । बैतडीको जिल्ला पशुसेवा कार्यालयले दशरथचन्द नगरपालिकाका किसानले पालेका २२ भैँसीलाई सुत्केरी भत्ता वितरण गरेको छ । प्रतिभैँसी २५ सयका दरले सुत्केरी भत्ता वितरण गरिएको छ । गत आर्थिक वर्षमा कार्यालयले आह्वान गरेको आवेदनका आधारमा भैँसीपालक किसानहरुलाई भैसी सुत्केरी भत्ता वितरण गरिएको जिल्ला पशुसेवा कार्यालय पाटनका सूचना अधिकृत शिवराज भट्टले जानकारी दिए ।

भैसी पालन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि गत आर्थिक वर्षदेखि भैसी सुत्केरी भत्ता कार्यक्रम सञ्चालनमा ल्याइएको हो । गतवर्ष सुत्केरी भैँसीले भत्ता पाउन सकेका थिएनन् । जिल्ला पशुसेवा कार्यालयले आवेदन आह्वान गरेका बेला भैसी ब्याएको दुई महिना भएको भैसी र ब्याउन एक महिना बाँकी रहेका भैसी पालक किसानहरुलाई भैसी सुत्केरी भत्ता कार्यक्रममा समावेश गरिएको थियो ।

भैँसीको अनिवार्य रुपमा विमा गरेका किसानलाई मात्रै सो भत्ता प्रदान गरिएको सूचना अधिकृत भट्टले बताए । उनले भने ‘भैसीको विमा गरेका किसानले मात्रै भैसी सुत्केरी भत्ता पाएका छन्, अघिल्लो वर्ष कसैले पनि विमा नगराएका कारण बजेट फ्रिज भएको थियो ।’

नेपाल सरकारले पशु र पशुजन्य सामाग्रीको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायिकरण गर्ने उद्देश्यले भैँसीको पशु विमा गराएका किसानलाई सुत्केरी भत्तावापत प्रतिभैँसी रु दुई हजार पाँच सय उपलब्ध गराउने गरेको छ ।

किसानले पशु विमा गर्दा २५ प्रतिशत रकम मात्र तिर्नुपर्ने र ७५ प्रतिशत रकम नेपाल सरकारले तिर्ने व्यवस्था रहेको जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत देवीदत्त भट्टले बताए । ‘किसानलाई पटकपटक पशु बिमाका लागि आग्रह गरेपछि यसपाली २२ जनाले प्रक्रिया पु¥याए । भैँसीको एक लाखसम्मको विमा गरेको छ र भैंसीको मृत्यु भएमा विमा कम्पनीले ९० हजार दिने प्रावधान छ ।’

तर, जिल्लाका धेरैजसो किसान पशु विमाको बारेमा अझै पनि अनविज्ञ रहेका छन् । जनचेतनाको अभाव र विमाको प्रक्रियाको बारेमा थाहा नभएका कारण भैँसी सुत्केरी भत्ता नपाएको पुरचौडी नगरपालिका ९, तल्लादेहीका किसान विरेन्द्र सार्कीले बताए । उनले भने, ‘विमा गरे त धेरै ठूलो नोक्सानीबाट बचिने रहेछ । तर, विमा गर्न नजानेरै भत्ता पाउन सकिएन ।’

सरकारले पशु विमामा ७५ प्रतिशत अनुदान दिएको भएपनि किसानको यसतर्फ आकर्षण नहुँदा बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लाबाट भैँसीको मासुको मूल्यमा तराईलगायत राजधानीतिर निकासी हुने गरेको किसान बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *