डा.केसीको अनशन दशौं दिनमा , मुटुको चालमा समस्या
“
काठमाडौं, १८ साउन । वरिष्ठ डाक्टर गोविन्द केसी टिचिङ अस्पतालमा अनशन बसेको १० दिन भएको छ । दिनप्रतिदिन उनको स्वास्थ्य बिग्रिँदो अवस्थामा छ । अहिले उनको मुटुको चालमा समस्या देखिएको चिकित्सकले बताएका छन् । उनको मागप्रति सरकार अहिलेसम्म मौन छ । यसअघिको अनशनभन्दा डा.केसीले निकै गाह्रो महशुस गरिरहेको उनको रेखदेखमा संलग्न डा. सचित शर्माले बताएका छन् ।
‘अनशन बसेको पाँचदिन यताबाट वहाँको मुटुको चालमा समस्या आइरहेको छ’ डा.शर्माले बताए । अनशन थप लम्बिदै गएमा डा.केसीको स्वास्थ्यमा कुनै पनि अवस्थामा गम्भीर खतरा हुन सक्ने उनले बताए । अनशनमा रहेका डा.केसीलाई ४ पटकभन्दा बढी भेन्टिकुलर टाचीअरेदमिया भइसकेको कारण उनका सहयोगीहरु चिन्तित देखिएका छन् ।
शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका कारण कुनै पनि रोगले सजिलै च्याप्न सक्ने खतरा पनि उतिकै रहेको उनले बताए । डा.केसीलाई मांसपेशीमा समस्या हुनुका साथै छाती दुख्ने र पेट पोल्ने समस्या भएको उनले जानकारी दिए ।
डा.केसीको स्वास्थ्यमा कुनै पनि बेला गम्भीर असर पर्न सक्ने कारण आकस्मिक औषधीहरु तयारी अवस्थामा राखिएको रेखदेखमा संलग्न चिकित्सकले बताए । साथै चौबिसै घण्टा नर्सको रेखदेखमा रहने पनि उनले बताए ।
“