यूएन पार्कको ३ सय १ रोपनी जग्गा कब्जा

साउन १८, काठमाडौं । निर्माणाधिन अवस्थामा रहेको यूएन पार्कको झन्डै ३ सय १ रोपनी जग्गा अनाधिकृत व्यक्ति तथा संस्थाहरुले कब्जा गरेका छन् । यसरी कब्जा जमाउनेहरुमा एनजिओ, ठेकेदार, सुकुम्बासीदेखि फुटबल क्लबसम्म रहेको छ । केही दिनअघि शहरी विकास मन्त्री प्रभु साह यूएन पार्कको अवस्थाको बारेमा जानकारी लिन पुगेका थिए । मन्त्रीले गाडी रोकेको ठाउँ अगाडि नै सार्वजनिक जग्गामा कवाडी सँकलन गरेर राखिएको थियो । मन्त्री साहले संयुक्त राष्ट्रसंघ पार्क विकास समितिका कार्यकारी निर्देशक लक्ष्मीनारायण चौधरीलाई ठाडै भने, ‘के यो व्यवसायमा तपाईको पनि मिलेमतो छ ? नत्र कसरी चलाउन सम्भव भयो यो ?’

चौधरी नाजवाफ भए । मन्त्री साहले कवाडी तत्काल हटाउन चौधरीलाई निर्देशन दिए । चौधरीले मुन्टो पनि हल्लाए । तर,  कवाडीको नजिकै महिला वातावरण संघ भन्ने एनजिओको भवन ठडिएको छ । यो भवनले यूएन पार्कलाई कुनै पनि शुल्क तिर्दैन । यसमा यूएन पार्कका पूर्व कर्मचारीको पनि मिलेमतो देखिन्छ । यो भवन बनाउन पूर्व शाखा अधिकृत सागर रिजालले लिखित रुपमै अनुमति दिएका छन् । आखिर पार्क निर्माण गर्नुपर्ने स्थलमा उनले किन दिए भवन निर्माण गर्न ?

खोज्दै जाँदा यूएन पार्कको जग्गामा अरु पनि थुप्रैले जथाभावी रुपमा भवन निर्माण गरेको देखियो । छेवैमा मधुमेह संघको भवन छ । यसले भवन निर्माणको लागि यूएन पार्कसँग कुनै अनुमति लिएको छैन । यो भवन हटाउनको लागि यूएन पार्कले अहिलेसम्म दुईपटक पत्राचार गरेको चौधरी बताउँछन् । केही समय अघि एक निजी व्यवसायीले ड्राइभिङ सेन्टर खोलेका रहेछन् । तर, अहिले त्यो सञ्चालनमा नभए पनि भौतिक संरचना भने जस्ताको तस्तै छ । टेकु दोभानदेखि शंखमुलसम्म सरकारले यूएन पार्क निर्माण गर्ने अवधारणा अघि सारेको छ । पार्क विकास समितिको नाममा १५ सय ७६ रोपनी जग्गा छ । तर, यसमा बाग्मती नदी हिँडेको स्थान पनि पर्दछ । नदी बाहेक समितिसँग ११ सय ६३ रोपनी जग्गा छ ।

शंखमुलमा नै युनएन पार्कको ९५ रोपनी जग्गामा सुकुम्बासीले घर बनाएका छन् । यस्ता संरचना केही वर्ष अघिसम्म अस्थायी प्रकृतिका थिए । तर, अहिले भने यहाँ पक्की घरहरु नै निर्माण हुन थालेका छन् । समितिका निर्देशक चौधरीका अनुसार शंखमुलमा अहिले यूएन पार्कको जग्गा मिचेर झन्डै १ सय ५० वटा घरहरु निर्माण भएका छन् । तर, सरकारले अहिलेसम्म उनीहरुलाई जग्गा खाली गर भनेर भन्न समेत सकेको छैन ।

स्थानीय निकायमा जनप्रतिनिधि आइसकेका छन् । तर, उनीहरु यसमा मुकदर्शक भएर बसेका छन् । काठमाडौं महानगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने यो शंखमुलको जग्गामा महानगर आफै बेखबर छ । किनकी त्यहाँ निर्माण भएका कुनै पनि घरको नक्सापास भएको छैन । समितिका एक पदाधिकारीका अनुसार मन्त्री साहले सामाजिक सञ्जालमा आलोचना नहुने गरी काम अघि बढाउनु भनेर निर्देशन दिएका छन् । ‘यसको अर्थ सामाजिक सञ्जालमा आलोचना हुन सक्ने भएकाले सुकुम्बासीलाई अहिले नहटाऊ भनेको हो,’ ती पदाधिकारीले भने । यूएन पार्कमा फोहरसमेत फाल्ने गरिएको छ ।

थापाथलीमा रहेको प्रसूति गृह अस्पतालको पछाडिपट्टि पनि झन्डै ५० रोपनीमा सुकुम्बासीले घर निर्माण गरेका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकालमा यहाँ भत्काउने काम भएको थियो । तर, यसले निरन्तरता पाउन सकेन । अहिले पुनः उक्त स्थानमा घर तथा टहरा निर्माण भएका छन् । त्यस्तै, बंशीघाटमा ६५ घर सुकुम्बासी रहेका छन् । काठमाडौं महानगरपालिकामा पर्ने यो क्षेत्रको सार्वजनिक जग्गामा अबैध टहरा हटाएर पार्क निर्माण गर्नुपर्ने समितिको काम हो । तर, यसका लागि अहिलेसम्म कुनैपनि काम अघि बढाउन सकेको छैन ।

ललितपुरको दुसिंगालमा यूएन पार्कको जग्गामा खेतीपाती चलेको छ । समितिले हटाउन खोज्दा खेतीपाती गर्दै आएका स्थानीयले मोहीको हक भन्दै छाड्न मानेका छैनन् । चौधरीले भने, ‘सार्वजनिक जग्गामा खेतीपाती गर्दै आएकाहरुले हामीले सुकुम्बासीबाट बचायौं भनेर उल्टो क्रेडिट लिन खोजिरहेका छन् । मोहिको हक पनि पो माग्छन् ।’ स्थानीयले त्यहाँको जग्गामा खेतीपाती गर्न छाड्ने तर आफूहरुलाई क्षतिपुर्ति दिनुपर्ने बताउँदै आएका छन् ।

दुसिंगाल एरियामा अहिले फ्रेन्डस् क्लबको पनि दवदवा छ । क्लवका पदाधिकारीहरुले आफ्नो सहमति बेगर निर्माणका काम गर्न नपाइने भन्दै समितिलाई रोक्दै आएका छन् । स्रोतका अनुसार केही समयअघि दुसिंगाल एरियामा पार्क निर्माणको लागि यूएन पार्कले अस्थायी छाप्रो बनाउन खोजेको थियो । तर क्लबले अवरोध गर्‍यो । फ्रेन्ड्स् क्लब त्यहाँ फुटल ग्राउन्ड निर्माण गर्ने पक्षमा छ । ललितपुरका मेयर चिरिबाबु महर्जनले यूएन पार्कको जग्गा अतिक्रमणका विषयमा आफूकहाँ कुनै जानकारी नआएको बताए ।

(  अनलार्इन खबरको सहयोगमा  )

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *