आयल निगमको जग्गा खरिदमा ठूलो भ्रष्टाचार

साउन १८, काठमाडाै । सांसदहरुले आयल निगमको जग्गा खरिदमा ठूलो भ्रष्टाचार भएको आरोप लगाएका छन् ।सांसदहरुले विचौलिया मार्फत् जग्गा खरिद गरेर आयल निगमले ठूलो भ्रष्टाचार गर्दा समेत सरकार मौन बसेकोमा आपत्ति जनाएका छन् । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा बोल्दै सांसदहरुले जग्गा खरिदको नाममा आयल निगमले ऐन, कानुनको समेत बेवास्ता गरेर खरिद प्रक्रिया अघि बढाउनुको कारणको खोजी गर्न पनि सरकारसँग माग गरेका छन् ।

समितिका सदस्य धनराज गुरुङले आयल निगमले नांगो ढंगले जग्गा खरिदमा भ्रष्टाचार गर्दा समेत सरकारले कार्वाहीको दायरामा नल्याएकोमा आपत्ति जनाउनु भयो । उहाँले विचौलिया राखेर जग्गा खरिद गर्ने अधिकार आयल निगमलाई कसले दियो भनि प्रश्न पनि गर्नुभयो । सांसद गुरुङले प्रतिकट्ठा ३ लाख पर्ने जग्गालाई कसरी करिव १० लाखमा खरिद गर्नुको कारण स्पष्ट पार्न आयल निगमका पदाधिकारीहरुसँग माग गर्नुभयो । उहाँले संसदको समेत आँखामा छारो हाल्ने काम नगर्न पनि आयल निगमका पदाधिकारीहरुलाई चेतावनी दिनुभयो ।

सर्लाहीकी सांसद डिम्पलकुमारी झाले आयल निगमले जग्गा खरिदमा ठूलो घोटाला गरेको आरोप लगाउनु भयो । उहाँले सर्लाहीमा प्रतिकट्ठा ३ लाख पनि नपर्ने जग्गालाई करिव १० लाख मूल्य परेको भनेर आयल नियमले झुटो बयान दिएको पनि उल्लेख गर्नुभयो । त्यस्तै, सांसद उषा गुरुङले आयल निगमले जग्गा खरिदमा भ्रष्टाचार गरेको उल्लेख गर्दै तत्काल अनुसन्धान गरी कडा कारवाही गर्न सरकारसँग माग गर्नुभयो । झापाकी सांसद समेत रहनु भएकी उहाँले झापामा प्रतिकट्ठा १ लाख भन्दा बढि नपर्ने जग्गालाई १३ लाख ५१ हजार रुपैयाँ मूल्य देखाएर ठूलो मात्रामा घोटाला गरिएको उल्लेख गर्नु भयो ।

सांसदहरुले आयल निगमले जग्गा प्राप्ती ऐनलाई वेबास्ता गर्दै जग्गा खरिद गर्नुको कारण खोजी गर्न पनि सरकारसँग माग गरेका छन् । उनीहरुले जग्गा खरिद विचौलियाहरु मार्फत गरेर निगमले ठूलो आर्थिक हिनामिना गरेको दावी गर्नुभयो । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण गर्न झापा, सर्लाही, चितवन र भैरहवामा जग्गा खरिद गरेको थियो । सो खरिदमा ठूलो घोटाला भएको पाइएपछि संसदीय समितिहरुले त्यसको अनुसन्धान प्रक्रियालाई अघि बढाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *