बीपी स्मृति दिवसमा काँग्रेसको ‘ग्रीन रन’: मुकेश पाल प्रथम (तस्बिरहरू)

काठमाडाैं । नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जन निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली काँग्रेसले ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गरेको छ ।

ललितपुरको युएन पार्कबाट सुरु भएको ५ किलोमिटर दूरीको उक्त दौडमा पुरुषतर्फ मुकेशबहादुर पाल प्रथम भएका छन् । प्रतियोगिताको निर्धारित दूरी १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा पूरा गर्दै पालले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । विजेताहरूलाई नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पुरस्कार वितरण गरे ।

प्रतियोगितामा नरेन्द्र सिंह रावल दोस्रो हुँदै २५ हजार, सञ्जय श्रेष्ठ तेस्रो हुँदै २० हजार, गणेश सिंह चौथो हुँदै १२ हजार, अमृत ठकुरी पाँचौँ हुँदै १० हजार र नागेश्वर अहिर छैटौँ हुँदै ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए । प्रतियोगिताका लागि करिब १ हजार ४ सय जनाले नाम दर्ता गराएका थिए ।

महिलातर्फको प्रतिस्पर्धामा सहभागीहरूले निर्धारित धावन मार्ग (रुट) छोडेर दौडिएका कारण उक्त विधाको प्रतियोगिता पुनः सञ्चालन गरिने जानकारी दिइएको छ । कार्यक्रममा सभापति थापा स्वयं प्रतियोगीका रूपमा सहभागी थिए भने अन्य सयौँले अप्रतियोगीका रूपमा ऐक्यबद्धता जनाएका थिए ।

सोही अवसरमा नेपाली काँग्रेसले ‘मानव सहायता कल्याण कोष’ स्थापनाको घोषणासमेत गरेको छ । कोषको घोषणा गर्दै सभापति थापाले यस माध्यमबाट घरबारविहीन एकल महिला तथा बालबालिकाहरूलाई विशेष सहयोग पुर्‍याइने जानकारी दिए ।

हाल पार्टीका सदस्यहरूबाट संकलन गरिएको १० लाख रुपैयाँ कोषमा जम्मा भइसकेको र यसलाई क्रमशः वृद्धि गर्दै लैजाने लक्ष्य राखिएको छ । कोषको विस्तृत कार्ययोजना, सञ्चालन विधि र पार्टीका आगामी राजनीतिक अभियानका बारेमा बिहीवार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष कार्यक्रममार्फत थप जानकारी दिइने थापाले बताए ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =