चरित्रहत्या गरेर मलाई प्रश्न सोध्नबाट रोक्न सकिँदैन: ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा असम्बन्धित अश्लील भिडियो आफ्नो भन्दै प्रचार गरिएको आरोप लगाएका छन् । उनले यस्तो गतिविधि आफ्नो चरित्रहत्या गर्ने नियतले गरिएको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत् शाहीले हुँदै नभएको र असम्बन्धित अश्लील भिडियो आफूसँग जोडेर प्रचार गर्नेहरूले त्यसको परिणामबारे एकपटक आफ्नै ठाउँमा बसेर सोच्नुपर्ने बताएका छन् । ‘यदि संसारको कुनै पनि ठाउँको असम्बन्धित अश्लील भिडियो ल्याएर ‘यो तिम्रो हो’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरियो भने, त्यसपछि तिम्रो परिवारका सदस्यहरूले तिमीलाई कसरी हेर्थे ?’ शाहीले लेखेका छन् ।

उनले यस्ता गतिविधिले व्यक्तिको प्रतिष्ठामात्र नभई परिवार र समाजमा समेत गम्भीर असर पार्ने उल्लेख गरेका छन् ।

शाहीले चरित्रहत्या गरेर आफूलाई प्रश्न उठाउन वा सत्यको पक्षमा बोल्नबाट रोक्न खोजिएको भए पनि त्यसमा सफल नहुने बताएका छन् । ‘यदि चरित्रहत्या गरेर ज्ञानेन्द्र शाही प्रश्न सोध्नबाट रोकिन्छ वा सत्यको पक्षमा लड्नबाट पछि हट्छ भन्ने सोच राखेका छौ भने, त्यो तिमीहरूको भ्रम मात्र हो । प्रश्न सोध्नबाट र सत्यको पक्षमा उभिनबाट म एक इन्च पनि पछि हट्ने छैन,’ उनले भनेका छन् ।

उनले आफू पहिलेभन्दा दोब्बर दृढताका साथ अघि बढ्ने उल्लेख गर्दै अन्यायविरुद्धको आफ्नो अभियान जारी रहने बताएका छन् । शाहीले लेखेका छन्, ‘यदि भगवान् साँच्चै छन् भने सत्य एक दिन अवश्य बाहिर आउनेछ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =