पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ

काठमाडौं । कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा श्रृङ्खलावद्ध चोरीमा संलग्न एक संगठित गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीय र दुई चिनियाँ नागरिकसहित ९ जना रहेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यो गिरोह पोखराका कम्तीमा पाँच वटा ठूला चोरीका घटनामा संलग्न देखिएको छ ।

पक्राउ पर्ने विदेशी नागरिकहरूमा भारतको उत्तर प्रदेशका २३ वर्षीय राहुल निसाद, महाराष्ट्रका ४० वर्षीय सोमनाथ हनुमन्त जाधव तथा चीनको वन्जाका ३० वर्षीय वेन जी र स्याङडोङका ३७ वर्षीय वाङ लिया इन रहेका छन् ।

त्यस्तै, चोरीमा संलग्न तथा सहयोग गर्ने नेपाली नागरिकहरूमा स्याङ्जाका ४२ वर्षीय राजकुमार बिक, कास्की अन्नपूर्णका ५० वर्षीय खिमबहादुर क्षेत्री (राजु केसी), अर्घाखाँचीका २९ वर्षीय अशोक पोखरेल, पोखरा–१६ का ५१ वर्षीय केशव पाइजा मगर र बागलुङका २७ वर्षीय अनिल बिक रहेका छन् ।

प्रहरीकाअनुसार यो गिरोहले योजनाबद्ध रूपमा भूमिका बाँडफाँड गरी चोरी गर्ने गरेको पाइएको छ। भारतीय नागरिकहरू प्रत्यक्ष चोरीमा संलग्न हुने, चिनियाँ नागरिकहरूले चोरी पूर्व ‘रेकी’ (निगरानी) गर्ने र नेपाली सहयोगीहरूले घर देखाउने तथा चोरीका सामान किनबेचमा सहयोग गर्ने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानकाअनुसार चिनियाँ नागरिकहरूले नेपाली र हिन्दी भाषा बुझ्ने भएकाले समूहमा सञ्चार गर्न सहज भएको छ ।

गिरोहले पोखरामा २०८३ असार १४ गते पोखरा–१८ मणि मार्गस्थित हेमराज गिरीको घरबाट २५ तोला सुनचाँदीका गहना र ७० हजार रुपैयाँ, असार ४ गते पोखरा–१७ छोरेपाटनका शिवप्रसाद बरालको घरबाट सुन, नगद १ लाख १५ हजार, ल्यापटप र मोबाइल, २०८३ असार १५ गते पोखरा–१८ भकुण्डेका गिरिधारी श्रेष्ठको घरबाट १ तोला ५४ लाल सुन र दुई थान मोबाइल, २०८३ असार २३ गते, पोखरा–८ का मोहसिन खतामीको कोठाबाट मोबाइल र ८५ हजार नगद, २०८३ असार २३ गते पोखरा–६ लेकसाइडका हिरामणी लामिछानेको घरबाट आइफोन लगायतका सामग्री चोरी गरेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ९ थान मोबाइल, १ थान स्मार्ट घडी, १ थान ल्यापटप, विभिन्न तौलका सुनका ढिक्का र टुक्राहरू (करिब १५ तोला) र नगद २ लाख ८१ हजार २२० रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप गरी वडा प्रहरी कार्यालय बैदाममार्फत थप अनुसन्धान भइरहेको पासवानले जानकारी दिए ।

यसैबिच, कास्की प्रहरीले सार्वजनिक बसमा यात्रुको पर्स चोरी गर्ने अर्को एक गिरोहलाई पनि पक्राउ गरेको छ । असार ३२ गते रूपा गाउँपालिकाबाट पोखरा आउँदै गरेको ग २ ख १३७२ नम्बरको बसमा अनिता श्रेष्ठको पर्स चोरी गर्ने रौतहटका ४२ वर्षीय गुरुप्रसाद बजगाईँ, ३४ वर्षीय रविन खड्का र झापाका ४५ वर्षीय टेकबहादुर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट चोरी भएको सुनको हार, चाँदीको औँठी र नगद बरामद गरिएको छ । पछिल्लो समय स्थानीय व्यक्तिहरू भन्दा पनि बाहिरी जिल्ला र विदेशी नागरिकहरू समेत चोरीमा संलग्न हुनुले सुरक्षा चुनौती थपिएको प्रहरीको विश्लेषण छ । पक्राउ परेका सबैमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =