एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु

चितवन । गत आर्थिक वर्ष २०८२/८३ मा हात्ती, गौँडा र बाघलगायतका जङ्गली जनावारको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार तीन जनाको गैंडाको आक्रमणका कारण मृत्यु भएको हो ।
सोही अवधिमा दुई जनाको हात्ती र एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए । मृतकमध्ये तीन जना भरतपुर महानगरपालिका, एक जना खैरहनी र एक जना माडी नगरपािलकाका रहेको निकुञ्जले जनाएको छ ।
अघिल्लो आव २०८१÷८२ मा १३ जना र आर्थिक वर्ष २०८०÷८१ मा ११ जनाको जङ्गली जनावारको आक्रमणबाट मृत्यु भएको थियो । निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा चितवनसहित नवलपरासी (वर्दघाट–सुस्ता पूर्व), पर्सा र मकवानपुर जिल्ला पर्दछ । मध्यवर्तीको ठूलो भूभाग चितवनमा पर्ने भएकाले बढी जोखिम यहाँकै बासिन्दा पर्ने गरेको तथ्याङ्कले देखाएको छ ।
वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई सरकारले प्रतिव्यक्ति रु १० लाख राहत उपलव्ध गराउँदै आएको छ ।








