बालबालिकालाई सदस्यता दिएको विषयमा रास्वपाले आयोगलाई दियो स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरेको विषयमा राष्ट्रिय मानव अधिकार आयोगलाई स्पष्टीकरण दिएको छ ।

संविधान विपरीत बालबालिकालाई पार्टी सदस्य बनाएको विषय सार्वजनिक भएपछि आयोगले चासो देखाउँदै रास्वपासँग वास्तविकता स्पष्ट पार्न पत्राचार गरेको थियो ।

आयोगले गत असार १५ गते रास्वपालाई पत्र पठाउँदै उक्त विषयमा सत्यतथ्य जानकारी गराउन भनेको थियो । रास्वपाले आयोगको पत्रको जवाफ पठाइसकेको आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए ।

आयोग स्रोतका अनुसार रास्वपाले १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना सदस्य रहेको भन्ने विवरण वास्तविक सदस्यता अभिलेख नभई प्रारम्भिक आवेदन विवरणका आधारमा देखिएको जनाएको छ ।

उक्त उमेर समूहका व्यक्ति पार्टी सदस्य भएको भनेर भूलवश प्रतिवेदनमा उल्लेख भएको रास्वपाले आयोगलाई दिएको जवाफमा उल्लेख गरेको स्रोतले जनाएको छ ।

रास्वपाले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, बालबालिकासम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पार्टी सदस्य बनाउने नीति र अभ्यास आफ्नो पार्टीमा नरहेको पनि स्पष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =