मेसीले जित्न बाँकी के नै छ र !

एजेन्सी । स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने अवसर गुमाएपछि देशभर निराशा छाएको छ । समर्थकहरूका लागि यो हार केवल उपाधि रक्षा अभियानको अन्त्य मात्र नभई विश्व फुटबलका महान् खेलाडी लियोनेल मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्राको समापनका रूपमा पनि दर्ज भएको छ ।

ब्युनस आयर्सका बार, क्याफे र सार्वजनिक चोकमा खेल हेर्न भेला भएका हजारौँ समर्थक खेल सकिएसँगै स्तब्ध बनेका थिए । खेलअघि जयजयकार र उत्साहले भरिएका समर्थकहरू अन्तिम सिटी बजेसँगै आँसु, निराशा र भावुकतामा डुबेका देखिए । धेरैले अब ३९ वर्षीय मेस्सीलाई विश्वकपमा फेरि देख्न नपाइने सम्भावनाले आफूहरूलाई सबैभन्दा बढी पीडा दिएको बताएका छन् ।

२२ वर्षीय वास्तुकला विद्यार्थी क्यामिलो चिचेरोले आफूलाई ‘खाली–खाली’ महसुस भएको प्रतिक्रिया दिँदै मेस्सीको विश्वकप यात्रा यतिमै टुङ्गिएको स्वीकार गर्न कठिन भएको बताए । उनले मेस्सीले आफ्नो करिअरमा जित्नुपर्ने सबै प्रमुख उपाधि जितिसकेको तथ्यले केही सान्त्वना दिएको उल्लेख गरे ।

कानूनका विद्यार्थी जुआन सेन्जले पनि मेस्सीकै युगमा आफू हुर्किएको भन्दै यो केवल एक खेलाडीको बिदाइ नभई एउटा युगको अन्त्य भएको प्रतिक्रिया दिए ।

हारपछि पनि अर्जेन्टिनी समर्थकहरूले आफ्नो टोलीप्रतिको सम्मान कायम राखेका छन्। राजधानी ब्युनस आयर्सको प्रसिद्ध ओबेलिस्क क्षेत्रमा हजारौँ समर्थक भेला भएर टोलीप्रति ऐक्यबद्धता जनाएका थिए । उनीहरूले टोली स्वदेश फर्किएपछि सडकमा उत्रिएर स्वागत गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

राष्ट्रपति जेभियर मिलेईले सामाजिक सञ्जाल एक्समार्फत खेलाडीहरूले अन्तिम क्षणसम्म सङ्घर्ष गरेको भन्दै उनीहरूलाई धन्यवाद दिएका छन् ।

फाइनलअघि अर्जेन्टिनी समर्थकहरू लगातार कठिन जितका आधारमा टोलीले पुनः विश्वकप जित्ने विश्वासमा थिए। राष्ट्रिय झण्डा र नीलो–सेतो जर्सी लगाएर उनीहरू बिहानैदेखि बार र सार्वजनिक स्थलमा भेला भएका थिए । खेल अघि बढ्दै जाँदा सुरुआती उत्साह विस्तारै तनावमा परिणत भएको थियो ।

दोस्रो हाफ र अतिरिक्त समयमा समर्थकहरू प्रार्थना, चिच्याहट र चिन्तामा डुबेका थिए । एन्जो फर्नान्डेज रातो कार्ड पाएर मैदान बाहिरिएपछि उनीहरूको आशा थप कमजोर बनेको थियो । अन्ततः अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलसँगै अर्जेन्टिनाको उपाधि रक्षा अभियान समाप्त भयो ।

पराजयपछि केही समर्थकहरूले टोलीको रणनीति, खेलाडी छनोट र निर्णायकको निर्णयप्रति असन्तुष्टि जनाए पनि अधिकांशले खेलाडीहरूले अन्तिम क्षणसम्म पूरा शक्ति लगाएर खेलेकाले उनीहरूप्रति गर्व रहेको बताएका छन् ।

६२ वर्षीय सेवानिवृत्त एबेल टोरेसले अर्जेन्टिनाले अन्तिमसम्म सङ्घर्ष गरेको उल्लेख गर्दै कठिन परिस्थितिमा पनि उठेर अघि बढ्ने राष्ट्रको चरित्र टोलीले मैदानमा देखाएको बताए ।

मेस्सीको जन्मस्थान रोजारियोमा पनि सयौँ समर्थक भेला भएर आतसबाजीसहित टोली र मेस्सीप्रति सम्मान प्रकट गरेका छन् । समर्थक सर्जियो इराजाबलले विश्वकप उपाधि गुमाए पनि मेस्सीले अर्जेन्टिनालाई विश्व फुटबलको शिखरमा पु¥याएको भन्दै उनको योगदान सधैँ स्मरणीय रहने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =