ऊर्जा उत्पादनसँगै प्रशारण र वितरण पूर्वाधार सुदृढीकरणमा परिसंघको जोड

काठमाैडाैं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा विद्युत उत्पादनको अनुपातमा प्रशारण र वितरण पूर्वाधार विकास हुन नसक्दा औद्योगिक तथा समग्र आर्थिक विकासमा अवरोध पुगेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले उत्पादनसँगै पूर्वाधार विकासलाई समानान्तर रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् । अध्यक्ष पाण्डेकाअनुसार हाल नेपालको कुल विद्युत उत्पादन क्षमता करिब ४ हजार ३ सय मेगावाट पुगेको छ, जसमा निजी क्षेत्रको योगदान मात्रै ३ हजार ६ सय मेगावाट रहेको छ ।

उत्पादनमा भएको यो प्रगति उत्साहजनक भए पनि पर्याप्त पूर्वाधारको अभावमा उत्पादित ऊर्जाको पूर्ण उपयोग, उद्योगहरूलाई नियमित आपूर्ति र निर्यात विस्तारमा कठिनाइ भइरहेको उनले उल्लेख गरे । विद्युतलाई उद्योगहरूको प्रमुख कच्चा पदार्थको रूपमा चित्रण गर्दै अध्यक्ष पाण्डेले वितरण प्रणालीको कमजोरीका कारण उद्योगहरूले अझै पनि पर्याप्त र गुणस्तरीय विद्युत पाउन नसकेको बताए ।

अध्यक्ष पाण्डेले जलविद्युत क्षेत्रका मुख्य चुनौतीका रूपमा प्रशारण लाइन निर्माणमा हुने ढिलासुस्ती, विद्युत खरिद सम्झौता (पिपिए) को पर्खाइमा रहेका आयोजनाहरू र कमजोर वितरण प्रणालीलाई औँल्याए । जग्गा अधिग्रहण, वन क्षेत्रको स्वीकृतिमा हुने प्रशासनिक जटिलता र वातावरणीय प्रभाव मूल्याङ्कनको लामो प्रक्रियाले गर्दा आयोजनाहरू सम्पन्न हुन वर्षौं लाग्ने र लागत बढ्ने गरेको उनको भनाइ छ ।

साथै, ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र स्थानीय तहबीच प्रभावकारी समन्वयको अभावले पनि पूर्वाधार निर्माण प्रभावित भइरहेको पाण्डेले उल्लेख गरे । नेपाललाई दक्षिण एसियाको ‘स्वच्छ ऊर्जा केन्द्र’ का रूपमा विकास गर्न अन्तरदेशीय प्रशारण लाइन विस्तार गरी भारत र बंगलादेशसँगको व्यापारलाई प्राथमिकता दिनुपर्ने पाण्डेले सुझाव दिए ।

अध्यक्ष पाण्डेले आगामी दशकमा ऊर्जा क्षेत्रमा आवश्यक पर्ने ठूलो लगानीका लागि सरकारी स्रोत मात्र पर्याप्त नहुने भन्दै निजी क्षेत्र, अन्तर्राष्ट्रिय वित्तीय संस्था र विकास साझेदारहरूसँगको सहकार्यलाई प्रभावकारी बनाउन ‘नीतिगत स्थिरता’ र ‘छिटो निर्णय प्रक्रिया’ सुनिश्चित गर्न सरकारसँग माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 1 =