मनोरञ्जन

साइड हिरोलाई ‘स्टार’ बनाउन चलचित्र ‘लज्जावती’ बनाए: निर्देशक साने

निर्देशक सानेकै अघिल्लो चलचित्र ‘सिटामोल’ बाट नेपाली रजतपटमा डेब्यु गरेका कलाकार हुन् श्रीकृष्ण निरौला ।

काठमाडौँ । नेपाली चलचित्र उद्योगमा ‘स्टार’ बन्ने क्षमता भएका कलाकारहरूको कमी छैन । तर चर्चाको केन्द्रमा प्रायः स्थापित कलाकारहरू मात्रै पर्ने भएकाले लामो समयदेखि उद्योगमा सक्रिय धेरै प्रतिभाशाली कलाकारहरू सहायक भूमिकामै सीमित हुन बाध्य छन् । अवसरको अभावका कारण उनीहरू मिडिया र दर्शकको नजरमा पर्नसमेत कठिन सङ्घर्ष गर्नुपर्छ ।

सही अवसर, प्रभावकारी निर्देशन र उपयुक्त प्रस्तुति पाए सहायक भूमिकामा देखिएका कलाकारलाई पनि स्टारका रूपमा स्थापित गर्न सकिन्छ । यद्यपि, नयाँ अनुहारलाई स्टार बनाउने यात्रा सहज छैन । यसमा व्यावसायिक जोखिम र चुनौती दुवै जोडिएका हुन्छन् ।

यही चुनौतीलाई स्वीकारेका छन् निर्देशक राज बहादुर सानेले । आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको आफ्नो चलचित्र ‘लज्जावती’ मार्फत उनले नयाँ कलाकारलाई स्टारका रूपमा स्थापित गर्ने प्रयास गरेका छन् ।

हालै राजधानीमा आयोजित चलचित्रको गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक सानेले नयाँ कलाकारलाई अघि बढाउने आफ्नो सोच र त्यसपछाडिको उद्देश्यबारे खुलासा गरे ।

निर्देशक सानेकै अघिल्लो चलचित्र ‘सिटामोल’ बाट नेपाली रजतपटमा डेब्यु गरेका कलाकार हुन् श्रीकृष्ण निरौला । डेब्यु चलचित्रमा सहायक भूमिकामा देखिएका निरौलालाई यसपटक भने निर्देशक सानेले ‘स्टार’को हैसियत दिलाउने लक्ष्यसहित चलचित्र ‘लज्जावती’ मा मुख्य भूमिका दिएका छन् ।

गीत सार्वजनिक कार्यक्रममा भावुक बन्दै निर्देशक सानेले भने, ‘मैले यो चलचित्र ‘लज्जावती’ खासमा श्रीकृष्णकै लागि निर्माण गरेको हो । श्रीकृष्णले एउटा मुख्य भूमिका निर्वाह गरोस्, उसले भोलिका दिनमा एउटा स्टारको भ्यालु पाओस् भन्ने नै मेरो आशा, उद्देश्य र लक्ष्य हो ।’

उनले श्रीकृष्णको संघर्षपूर्ण यात्रालाई नजिकबाट बुझेपछि उनलाई मुख्य भूमिकामा प्रस्तुत गर्ने निर्णय गरेको बताए ।

‘मैले ‘सिटामोल’मा त्यति बुझ्न पाएको थिएन, श्रीकृष्णलाई मैले यो ‘लज्जावती’मा बुझ्न पाएको छु । श्रीकृष्णको जिन्दगी पनि यो चलचित्र क्षेत्रमा आउनको लागि धेरै स्ट्रगल छ,’ उनले भने ।

सानेले चलचित्र निर्माणका क्रममा श्रीकृष्णसँग धेरै मेहनत गराएको र आवश्यक सुझाव दिँदै अगाडि बढाएको जानकारी दिए ।

‘त्यही क्रममा मैले मेहनत पनि गरेको छु, मैले गाली पनि गरेको छु, यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेको छु । उसको आफ्नो व्यक्तिगत जीवन सुन्ने हो भने मेरो जस्तै रुनाधोना छ,’ निर्देशक सानेले भने ।

श्रीकृष्णको संघर्षको कथा सुनाउँदै सानेले उनको कलाकार बन्ने यात्रा सहज नभएको सुनाए ।

‘लकडाउनभन्दा पहिला ऊ कहाँ–कहाँ बस्थ्यो रे, शङ्खमूलको पूजा–आजा गर्ने मन्दिरमा । त्यहीँबाट उसको जीवनको सुरुवात भएको छ, श्रीकृष्णजीको,’ उनले भने ।

उनले चलचित्र क्षेत्रमा आउन श्रीकृष्णले वरिष्ठ कलाकारहरूलाई छाता समेत ओढाएको खुलासा गरे ।

‘चलचित्र क्षेत्रका आदरणीय तथा सम्माननीय व्यक्तित्वहरू, निखिल उप्रेती, अनि हाम्रा रेखा दिदीहरूलाई छाता ओढाएर पनि उहाँले यस क्षेत्रमा कलाकार बन्नको लागि स्ट्रगल गर्नुभएको छ,’ सानेले भने ।

आफूलाई श्रीकृष्णलाई अवसर दिनुपर्छ भन्ने महसुस भएर नै चलचित्र ‘लज्जावती’ बनाएर उनलाई मुख्य भूमिका दिएको सानेको भनाइ छ ।

‘मलाई लाग्यो यो यस्तो मान्छे चाहिँ यो चलचित्र क्षेत्रमा हुनुपर्छ । उसले हिजोका दिनमा के पाए, के पाएन मलाई थाहा छैन । मलाई परमेश्वरले, भगवानले यो मान्छेलाई कलाकार बना, यो मान्छेलाई चाहिँ एउटा प्लेटफर्म चाहिएको छ, त्यो प्लेटफर्म त सँगै छ, यसलाई दे भनेको जस्तो मलाई फिल भएपछि मैले ‘लज्जावती’मा केही गर्नुपर्छ भनेर मैले त्यो आशामा उसलाई गरेको हुँ,’ उनले भने ।

चलचित्रको सफलता वा असफलताको निर्णय दर्शकले गर्ने उल्लेख गर्दै सानेले ‘लज्जावती’लाई आफ्नो एसएलसी परीक्षासँग तुलना गरे ।

‘अब मन पराउने नपराउने यहाँहरूको हात हो । मेरो लागि त चलचित्र एसएलसीको परीक्षा जस्तै थियो । परीक्षा दिएपछि रिजल्ट आएपछि मात्रै थाहा हुन्छ, पास भयो कि भएन भनेर । यो चलचित्र पनि त्यही हो । हामीले आफ्नो तर्फबाट गर्नुपर्ने सबै कुरा गरेका छौँ, अब अन्तिम नतिजा यहाँहरूले दिने हो,’ उनले भने ।

उनले चलचित्र निर्माणमा सम्पूर्ण टिमको मेहनत रहेको उल्लेख गर्दै मुकुन्द, धीरेन्द्र, हिमवाला, प्रिया, आरआर खड्का, जानुका, मेनुकालगायत सम्पूर्ण टिमप्रति धन्यवाद व्यक्त गरे ।

पछिल्लो समयका सशक्त र स्थापित अभिनेता मुकुन भुसाल मुख्य भूमिकामा रहेको यस चलचित्रमा निर्देशक सानेले श्रीकृष्णलाई पनि समानान्तर रूपमा अगाडि बढाएका छन् । मुकुन भुसाल जस्ता परिपक्व अभिनेताको साथले चलचित्रलाई बलियो बनाएको अनुमान गर्न सकिन्छ भने श्रीकृष्णलाई उद्योगमा स्थापित गराउन यो चलचित्र कोशेढुङ्गा साबित हुने निर्देशक सानेको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =