सुदूरपश्चिममा सत्ता समीकरणबारे छलफल गर्न नेकपाको बैठक

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता समीकरणबारे छलफल गर्न नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक सुरु भएको छ ।
संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रदेश सरकारको अवस्था, आगामी आर्थिक वर्षको बजेट तथा सम्भावित राजनीतिक सहकार्यका विषयमा छलफल भइरहेको छ ।
बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्तासँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहले प्रमुख प्रतिपक्षी नेकपासँग सत्ता सहकार्यको प्रस्ताव अघि सारेका छन् ।
मुख्यमन्त्री शाहले चालु बजेट पारित गर्न सहयोग गर्न र त्यसपछि सत्ता सहकार्य गर्ने प्रस्ताव राखेका थिए । तर नेकपाले उक्त प्रस्ताव अस्वीकार गरेको छ । यद्यपि दुवै पक्षका नेताबीच सत्ता समीकरणका विषयमा अनौपचारिक छलफल भने जारी रहेको बताइएको छ ।
यसअघि एमालेले आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति असहमति जनाउँदै खर्च कटौतीको प्रस्ताव दर्ता गरेको थियो । यही विषयलाई लिएर कांग्रेस र एमालेबीच विवाद बढ्दै गएपछि दुवै दलबीचको सत्ता सहकार्य अन्त्य भएको हो ।
एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन् । संवैधानिक व्यवस्थाअनुसार बिहीबार राति १२ बजेभित्र प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने बाध्यता छ ।
निर्धारित समयभित्र बजेट पारित हुन नसके वा सरकारले पेश्की बजेट ल्याउन नसके प्रदेशमा बजेट शून्यताको अवस्था सिर्जना हुने जोखिम रहेको छ ।








