हरित इलाम हिलोमय भयो: निश्कल राई

काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निश्कल राईले इलामको मेची राजमार्ग र अन्य वैकल्पिक सडकखण्डको अवस्था दयनीय भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद राईले पूर्वाधारको अभावमा इलामका नागरिकले सास्ती भोग्नुपरेको बताएका हुन् ।

उनले ‘हरित नगरी’ का रूपमा चिनिने इलाम अहिले सडकको दुरावस्थाका कारण हिलोमय’ भएको टिप्पणी गरे । मेची राजमार्गको बेहाल अवस्थाले गर्दा बिरामी र सुत्केरी महिलाहरूलाई उपचारका लागि झापाका अस्पतालसम्म पुर्याउन समेत नसकिने स्थिति सिर्जना भएको उनले उल्लेख गरे । सांसद राईले राजदुवाली र सिमल गोलाई सडकखण्डको नाजुक अवस्थाका साथै माई जोगमाई खोला र पुवा खोलामा बेलीब्रिज निर्माणको माग पटक–पटक सदनमा उठाउँदा पनि सुनुवाइ नभएकोमा आपत्ति जनाए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले सो क्षेत्रको स्थलगत अवलोकन गरे पनि सुधारका लागि कुनै ठोस पहल नभएको उनको गुनासो छ । गत वर्षको प्राकृतिक विपत्तिका कारण इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरिए तापनि सरकारले पठाएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको र यस वर्ष झन् उपेक्षा गरिएको उनले बताए ।

उनले भने ‘हामीले इलामलाई हरित नगरी इलाम भनेर भन्थ्यौँ । तर आज हिलोमलय इलाम हुन पुगेको छ । मेची राजमार्गको अवस्था यस्तो दर्दनाक छ कि इलामबाट कोही नागरिक बिरामी परेको खण्डमा वा सुत्केरी महिला झापाको एउटा हस्पिटलसम्म आउनसक्ने अवस्था छैन । वैकल्पिक बाटो र बेलिब्रिजको अवस्था पनि त्यस्तै छ । सम्माननीय सभामुख महोदय पूर्वाधारमन्त्री इलाम जानुभयो, ती सडकखण्डहरु हेर्नुभयो, हिँड्नु पनि भयो । मलाई आशा लागेको थियो उहाँ त्यो विकराल स्थितिको अवलोकन गरेर आउनुहुन्छ लागेको थियो । तर त्यस्तो हुन सकेन । के इलामका नागरिकका लागि ती पूर्वाधार बन्नका लागि सरकार पक्षकै प्रतिनिधि हुनुपर्ने हो । नत्र इलाम सुनिनुपर्थ्यो । सुनिएन ।’

उनले इलाम मनसुनजन्य विपद्को समेत जोखिममा रहेको भन्दै आवश्यक पूर्वतयारी गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 5 =