लोकतान्त्रिक विधि मिचेर सरकार तानाशाही बाटोमा लाग्यो: श्रम संस्कृति पार्टी

काठमाडौँ । प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले वर्तमान सरकार लोकतान्त्रिक विधि र पद्धतिलाई लत्त्याउँदै तानाशाही मार्गमा अग्रसर भएको आरोप लगाएका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले सरकारले किसान, मजदुर, प्रेस र आम नागरिकको अधिकार कुण्ठित गर्न खोजेको दाबी गरेका हुन् ।
प्रधानमन्त्रीको ‘सुपर एक्सप्रेस वे’ को प्रसङ्ग उल्लेख गर्दै राईले सरकारलाई लोकतान्त्रिक पद्धतिको बाटोमा हिँड्न सुझाव दिए । सांसद राईले संसदको १० दिनको बिदाका समयमा सरकारले अध्यादेशमार्फत नागरिकको अधिकारमाथि हस्तक्षेप गर्नसक्ने आशङ्का व्यक्त गरे । साउन १ गतेदेखि अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै उनले वर्षौँदेखि सेवा गरेका कर्मचारीलाई बिना विकल्प हटाउनु अन्यायपूर्ण हुने बताए ।
सरकारको पारदर्शितामाथि प्रश्न उठाउँदै राईले ६ वटा स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति नियुक्ति गर्दा अपनाइएको प्रक्रिया र सिफारिस भएका व्यक्तिको योग्यता सार्वजनिक नगरिएको भन्दै आलोचना गरे । संविधान संशोधनको विषयमा धारणा राख्दै उनले संघीयता र प्रदेश संरचनामाथि कुनैपनि प्रकारको ‘छेडखानी’ स्वीकार्य नहुने स्पष्ट पारे ।
उनले भने ‘हामीलाई नागरिकहरूले लोकतान्त्रिक विधि र पद्धतिबाट कानून बनाऊ सरकार चलाऊ भनेर यहाँ पठाएको हो लोकतान्त्रिक विधि र नीति मिचेर तानाशाही जन्माऊ भनेर होइन सभामुख महोदय । अहिले वर्तमान सरकारले किसान मजदुर गरिब निमुखा यी सबै माथि र प्रेस माथि विविध कुराहरूमा सरकारले तानाशाही ढङ्गले जसरी आज अधिकार कुण्ठित गर्ने काम गराएको छ, त्यो त्यो प्रति सरकारलाई म भन्न चाहन्छु । तपाईँहरू हिजो अस्ति हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले भन्दै थियो हामी सुपर एक्सप्रेस वेमा हिँडेका हौ भन्दै थियो म भन्न चाहन्छु प्रधानमन्त्री ज्युलाई प्रधानमन्त्री ज्यु तपाई सुपर एक्सप्रेस वेमा होइन लोकतान्त्रिक विधि र पद्धतिको वेमा सरकार चलाउनुहोस् । यदि सुपर सुपर एक्सप्रेस वेमा अगाडी बढ्दै गर्दा खेरी कतै विचार पुर्याइएन भने फेरि तपाईँको एक्सिडेन्ट भयो भने नउठ्ने ढङ्गले लड्न सकिन्छ त्यसैले सरकार सफल होस् भन्ने हाम्रो पार्टीको धारणा हुँदै गर्दा खेरी लोकतान्त्रिक विधि र पद्धतिमा चलाऊ भन्ने म सरकारलाई भन्न चाहन्छु ।’
सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको र आफूमाथि दुर्व्यवहार भएको उल्लेख गरे ।








