सरकार ‘स्टन्ट’ र ‘फन्डा’मार्फत जनसरोकारका विषयबाट भाग्न खोज्दैछ: गीता गुरुङ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद गीता गुरुङले सरकारले जनसरोकारका गम्भीर विषयलाई ‘स्टन्ट’ र ‘फन्डा’मार्फत विषयान्तर गर्न खोजेको आरोप लगाएकी छन् ।

बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने भन्दै सभामुखमार्फत रुलिङको माग गरिन् ।

उनले युवा नेतृत्वबाट ठूलो अपेक्षा गरिए पनि वर्तमान सरकारको कार्यशैलीले जनतामा निराशा बढाएको बताइन् । सरकारमाथि गम्भीर प्रश्न उठ्दा त्यसलाई ओझेलमा पार्न नयाँ–नयाँ प्रपञ्च गर्ने गरिएको उनको आरोप छ ।

सुकुम्बासी व्यवस्थापनको विषय उठाउँदै गुरुङले सरकारको अव्यावहारिक नीतिका कारण हालसम्म ९ जनाको ज्यान गएको दाबी गरिन् । १८ महिने बालक उज्ज्वल तामाङदेखि ७५ वर्षीया रतन देवी मलाहानीसम्मको मृत्यु घटनालाई उनले ‘राज्यद्वारा गरिएको संस्थागत हत्या’को संज्ञा दिइन् ।

बिना तयारी सुकुम्बासी बस्ती खाली गराउने कार्यले मानवीय संवेदनाको अभाव देखाएको भन्दै उनले यसले आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दासमेत आकर्षित गर्न सक्ने तर्क गरिन् ।

‘मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्दा सुकुम्बासी बस्तीमा डोजर चलाउनु र अन्य जल्दाबल्दा समस्या हुँदा विषयान्तर गर्नु सरकारको पुरानो शैली भइसकेको छ,’ उनले भनिन् ।

उनले महँगी बढेको, अर्थतन्त्र शिथिल भएको र शेयर बजार निरन्तर ओरालो लागेको भन्दै सरकार जनताका वास्तविक समस्याप्रति गम्भीर नभएको आरोप लगाइन् । वैदेशिक रोजगारीका लागि विमानस्थलमा युवाको भीड कायमै रहेको उल्लेख गर्दै उनले राज्य सञ्चालनलाई ‘बर्थडे पार्टी’ जस्तो ‘सरप्राइज’ दिने विषय बनाउन नहुने बताइन् ।

सांसद गुरुङले प्रधानमन्त्रीको कार्यशैलीले लोकतान्त्रिक व्यवस्था र संविधानवादमाथि प्रश्न उठाएको दाबी गरिन् । मुगुका गणेश नेपाली र सर्लाहीका विवेक मण्डलको आत्मदाह घटनालाई उनले व्यक्तिगत घटनामात्र नभई राज्यको असफलताको प्रतिविम्बका रूपमा व्याख्या गरिन् ।

उनले सरकारले जेन–जी अभियन्तामाथि दमन गरेको र स्वतन्त्र प्रेसलाई तर्साउन ‘भिजिलान्ते’ शैली अपनाएको आरोपसमेत लगाइन् । दलित, मधेसी, महिला तथा सीमान्तकृत समुदायले राज्यबाट असुरक्षित महसुस गरिरहेको उनको भनाइ थियो ।

लोकतन्त्रमा ‘सरप्राइज’ नभई कानूनको शासन र पूर्वानुमानयोग्यता आवश्यक हुने बताउँदै उनले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाइन् ।

यसैबीच, प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उभिएर अवरोध गरेका छन् ।

उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =