फिफा विश्वकप २०२६

फ्रान्स–स्पेन सेमिफाइनल भिडन्त: को पुग्ला विश्वकप फाइनलको यात्रामा?

काठमाडौँ। फिफा विश्वकप २०२६ अब आफ्नो सबैभन्दा रोमाञ्चक मोडमा पुगेको छ। उपाधि जित्न अब केवल दुई जित आवश्यक छ, र पहिलो सेमिफाइनलमा विश्व फुटबलका दुई महाशक्ति फ्रान्स र स्पेन आमनेसामने हुँदै छन्। विश्वकप इतिहास, पछिल्लो समयको प्रदर्शन, टोलीको गुणस्तर, स्टार खेलाडी र रणनीतिक लडाइँलाई हेर्दा यो खेललाई धेरैले ‘फाइनलअघि नै फाइनल’ को संज्ञा दिएका छन्। नेपाली समय अनुसार असार ३१ गते बुधवार बिहान १२:४५ बजे पहिलो सेमिफाइनलमा यी दुई राष्ट्र भिड्दै छन्।

एकातिर लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने इतिहास रच्ने लक्ष्यसहित फ्रान्स मैदान उत्रिनेछ भने अर्कोतर्फ १६ वर्षपछि फेरि विश्व फुटबलको शिखरमा फर्किने सपना बोकेको स्पेन हुनेछ। यी दुई टोलीमध्ये विजेता टोलीले उपाधितर्फ थप एक कदम अघि बढ्नेछ भने हार्ने टोलीको यात्रा सेमिफाइनलमै टुङ्गिनेछ।

लगातार इतिहास लेख्ने अभियानमा फ्रान्स

सन् २०१८ को विश्व विजेता र २०२२ को उपविजेता फ्रान्स यस पटक पनि उपाधिको सबैभन्दा बलियो दाबेदारका रूपमा प्रस्तुत भएको छ। प्रशिक्षक डिडिएर डेसच्याम्प्सको टोलीले अनुभव र युवा प्रतिभाको उत्कृष्ट संयोजन तयार गरेको छ।

फ्रान्स प्रतियोगिताकै सबैभन्दा आक्रामक टोलीमध्ये एक बनेको छ। कप्तान किलियन एमबाप्पे प्रतियोगिताभर विपक्षी रक्षा पङ्क्तिका लागि सबैभन्दा ठुलो खतरा बनेका छन्। उनको गतिसँगै ओस्मान डेम्बेलेको सिर्जनात्मक खेल, माइकल ओइलिसेको क्रस र डिजिरे डुएको गतिशीलताले फ्रान्सको आक्रमणलाई निकै घातक बनाएको छ।

फ्रान्सको अर्को विशेषता भनेको गोलका लागि एउटै खेलाडीमा निर्भर नहुनु हो। एमबाप्पेले आठ गोल गरिसके पनि टोलीका अन्य आक्रमणकारीले पनि निरन्तर योगदान दिएका छन्। त्यसैले विपक्षीले केवल एमबाप्पेलाई रोक्दैमा फ्रान्सलाई रोक्न सकिने अवस्था छैन।

रक्षात्मक रूपमा पनि फ्रान्स निकै सन्तुलित देखिएको छ। प्रतियोगिताभर केही गोल मात्र खाएको टोलीले प्रतिआक्रमणमा अत्यन्त प्रभावकारी प्रदर्शन गर्दै आएको छ।

बल नियन्त्रणको बादशाह स्पेन

स्पेनको यात्रा भने सुरुवातमा सहज थिएन। प्रतियोगिताको पहिलो खेलमै विश्वकपमा पहिलो पटक सहभागी केप भेर्डेसँग गोलरहित बराबरी खेलेपछि टोलीमाथि प्रश्न उठेको थियो। कतिपयले स्पेन यस पटक पनि अपेक्षाअनुसार अघि बढ्न नसक्ने अनुमान गरेका थिए।

तर त्यसपछि लुइस डे ला फुएन्तेको टोलीले आफ्नो वास्तविक क्षमता देखाउन सुरु गर्‍यो।

स्पेनले बल नियन्त्रणमा आधारित आफ्नो परम्परागत शैलीलाई अझ आधुनिक र प्रभावकारी बनाएको छ। प्रतियोगितामा सबैभन्दा बढी समय बल आफ्नो नियन्त्रणमा राख्ने टोली स्पेन नै हो। विपक्षीलाई बल नै नदिई खेलको गति नियन्त्रण गर्ने उनीहरूको शैली यस विश्वकपमा पनि सफल देखिएको छ।

मिडफिल्डमा रोड्री, पेड्री र डानी ओल्मोको संयोजनले खेल सञ्चालन गर्छ भने अग्रपङ्क्तिमा लामिन यामाल, निको विलियम्स र मिकेल ओयारजाबालले निरन्तर अवसर सिर्जना गर्छन्।

स्पेनको सबैभन्दा ठुलो शक्ति भनेको धैर्यता हो। उसले बलको स्वामित्व कायम राख्दै विपक्षीलाई थकित बनाउने र त्यसपछि खाली स्थानको फाइदा उठाउने रणनीति अपनाउने गरेको छ।

एमबाप्पे बनाम यामाल : पुस्ता र प्रतिभाको भिडन्त

यो खेलको सबैभन्दा आकर्षक पक्ष किलियन एमबाप्पे र लामिन यामालबीचको अप्रत्यक्ष प्रतिस्पर्धा हुनेछ।

एमबाप्पे अहिले विश्व फुटबलकै सबैभन्दा प्रभावशाली फरवार्डमध्ये एक हुन्। आठ गोलसहित उनी गोल्डेन बुटको दौडमा लियोनल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थानमा छन्। उनी एक्लैले खेलको दिशा परिवर्तन गर्ने क्षमता राख्छन्।

उता १९ वर्षीय लामिन यामाल विश्व फुटबलको भविष्य मानिएका खेलाडी हुन्। युरोकपमा चम्किएपछि विश्वकपमा पनि उनीबाट धेरै अपेक्षा गरिएको थियो। यद्यपि अहिलेसम्म उनले आफ्नो उत्कृष्ट प्रदर्शन पूर्ण रूपमा देखाउन सकेका छैनन्।

सेमिफाइनलजस्तो ठुलो मञ्चमा यामालले आफ्नो प्रतिभा देखाउन सके स्पेनका लागि त्यो निर्णायक हुन सक्छ।

खेलको वास्तविक युद्ध मिडफिल्डमा

यो खेल केवल स्टार फरवार्डहरूको मात्र होइन, मिडफिल्डको पनि लडाइँ हुनेछ।

फ्रान्स सम्भवतः दुई मिडफिल्डरको संरचनामा खेल्दै छिटो प्रतिआक्रमण गर्ने योजनामा हुनेछ। उता स्पेन भने रोड्री, पेड्री र डानी ओल्मोको त्रिकोणमार्फत खेल नियन्त्रण गर्ने प्रयासमा रहनेछ।

यदि स्पेनले बल नियन्त्रण कायम राख्न सफल भयो भने फ्रान्सलाई आफ्नो मनपर्ने प्रतिआक्रमण खेल खेल्न कठिन हुनेछ।

तर फ्रान्सले बल खोस्ने बित्तिकै एमबाप्पेको गति प्रयोग गर्न सक्यो भने स्पेनको उच्च रक्षा पङ्क्ति समस्यामा पर्न सक्छ।

त्यसैले खेलको नतिजा धेरै हदसम्म मिडफिल्ड कसले जित्छ भन्नेमा निर्भर रहनेछ।

फ्रान्सले कसरी जित्न सक्छ?

फ्रान्सको सफलता धेरै हदसम्म तीव्र प्रतिआक्रमणमा निर्भर हुनेछ।

स्पेन बल लिएर माथि उक्लिने भएकाले पछाडि खाली स्थान बन्ने सम्भावना रहन्छ। यही ठाउँमा एमबाप्पे, डेम्बेले र ओलिसेले आफ्नो गति प्रयोग गर्न सक्नेछन्।

यदि फ्रान्सले सुरुमै गोल गर्न सफल भयो भने स्पेनलाई खेल खोल्न बाध्य पार्नेछ, जसले फ्रान्सलाई थप अवसर दिन सक्छ।

स्पेनले कसरी जित्न सक्छ?

स्पेनको योजना स्पष्ट हुनेछ—बल आफ्नो नियन्त्रणमा राख्ने, फ्रान्सलाई दौडाउन बाध्य बनाउने र धैर्यपूर्वक अवसर सिर्जना गर्ने।

रोड्रीले एमबाप्पेतर्फ जाने पासहरू काट्न सके र पेड्रीले खेलको गति नियन्त्रण गर्न सके स्पेनले खेल आफ्नो पक्षमा मोड्न सक्छ।

यामाल र निको विलियम्सले विङबाट एक–विरुद्ध–एकको स्थिति सिर्जना गर्न सके फ्रान्सको रक्षा पङ्क्तिमा दबाब बढ्नेछ।

इतिहास बनाउने अवसर

फ्रान्सका लागि यो केवल अर्को सेमिफाइनल होइन।

यदि फ्रान्स फाइनल पुग्यो भने उसले लगातार तेस्रो विश्वकप फाइनल खेल्ने दुर्लभ कीर्तिमान बनाउनेछ। यसअघि यस्तो उपलब्धि जर्मनी र ब्राजिलले मात्र हासिल गरेका छन्।

उता स्पेन २०१० पछि पहिलो पटक विश्वकप फाइनल पुग्ने अवसरको खोजीमा छ। त्यसैले दुवै टोलीका लागि यो खेल ऐतिहासिक महत्वको हुनेछ।

हालसम्मको यात्रा

फ्रान्स

फ्रान्सले समूह चरणमा सेनेगललाई ३–१, इराकलाई ३–० र नर्वेलाई ४–१ ले हराउँदै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्‍यो।

अन्तिम ३२ मा स्विडेनलाई ३–० ले पराजित गरेको फ्रान्सले अन्तिम १६ मा पाराग्वेमाथि १–० को कठिन जित निकाल्यो। त्यसपछि क्वाटरफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो विश्वकप सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो।

स्पेन

स्पेनले पहिलो खेलमा केप भेर्डेसँग गोलरहित बराबरी खेले पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्‍यो।

साउदी अरेबियालाई ४–० र उरुग्वेलाई १–० ले हराउँदै समूह विजेता बनेको स्पेनले अन्तिम ३२ मा अस्ट्रियालाई ३–० ले पराजित गर्‍यो।

अन्तिम १६ मा पोर्चुगललाई १–० ले हराएको स्पेनले क्वाटरफाइनलमा बेल्जियमविरुद्ध निकै कठिन खेल खेल्यो। फाबियन रुइजको गोलबाट अग्रता बनाए पनि बेल्जियमले बराबरी गरेको थियो। खेल सकिन दुई मिनेट बाँकी रहँदा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए।

हेड–टु–हेड

फ्रान्स र स्पेनबिच हालसम्म ३८ खेल भएका छन्।

  • स्पेन विजयी : १८
  • फ्रान्स विजयी : १३
  • बराबरी : ७

विश्वकपमा भने यी दुई टोली दोस्रो पटक मात्र भिड्न लागेका हुन्।

पहिलो भेट सन् २००६ को विश्वकपको अन्तिम १६ मा भएको थियो। स्पेनले डेभिड भियाको गोलबाट अग्रता लिए पनि फ्रान्सले फ्रान्क रिबेरी, प्याट्रिक भिएरा र जिनेदिन जिदानको गोलमा ३–१ को शानदार पुनरागमन जित निकालेको थियो।

पछिल्लो ठुलो प्रतियोगितामा भने युरोकप २०२४ को सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ ले हराएको थियो।

निर्णायक बन्न सक्ने खेलाडी

फ्रान्स

  • किलियन एमबाप्पे
  • ओस्मान डेम्बेले
  • माइकल ओलिसे
  • डिजिरे डुए
  • औरेलियन चुआमेनी

स्पेन

  • लामिन यामाल
  • रोड्री
  • पेड्री
  • मिकेल ओयारजाबाल
  • मिकेल मेरिनो

के हेर्ने?

यो खेल केवल दुई उत्कृष्ट टोलीबिचको भिडन्त मात्र होइन, दुई फरक फुटबल दर्शनबिचको प्रतिस्पर्धा पनि हो।

एकातिर फ्रान्सको तीव्र गति, प्रतिआक्रमण र व्यक्तिगत प्रतिभा छ। अर्कोतर्फ स्पेनको धैर्यता, बल नियन्त्रण, पासिङ फुटबल र सामूहिक खेल छ।

यदि एमबाप्पेले आफ्नो गति देखाए फ्रान्स फाइनल नजिक पुग्न सक्छ। यदि रोड्री र पेड्रीले खेल नियन्त्रण गरे भने स्पेन फेरि एक पटक विश्वकप फाइनलको ढोका खोल्न सफल हुन सक्छ।

त्यसैले डलासमा हुने यो सेमिफाइनल केवल एउटा खेल होइन, विश्व फुटबलका दुई महान् शैलीबिचको ऐतिहासिक सङ्घर्ष हुनेछ। करोडौँ समर्थकको नजर यही खेलमा हुनेछ, जहाँ एउटा टोलीले फाइनलको टिकट काट्नेछ भने अर्को टोलीको विश्वकप यात्रा समाप्त हुनेछ।

:- एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =