बाल मनोविज्ञानको कथा बोकेको ‘ए स्वीट एप्पल’ मण्डला थिएटरमा (तस्बिरहरू)

काठमाडौँ। बाल मनोविज्ञान, कल्पना शक्ति र अभिभावकको सोचबिचको सम्बन्धलाई रोचक शैलीमा प्रस्तुत गर्ने नाटक ‘ए स्वीट एप्पल (A Sweet Apple)’ यति बेला थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ। मङ्गोलियामा १९ पटक सफल मञ्चन सम्पन्न गरेर स्वदेश फर्किएको यो नाटक अब आगामी अगस्ट महिनामा इन्डोनेसिया र दक्षिण कोरियामा पनि प्रदर्शन हुने तयारीमा छ।

केदार श्रेष्ठको कथा, परिकल्पना र निर्देशनमा तयार भएको यो अर्ध–अवाक (सेमी–नन–भर्बल) नाटकले ६–७ वर्षका एक बालकको कल्पनाशील संसारलाई केन्द्रमा राख्छ। चित्रमा आफूलाई मन परेका फरक–फरक रङ प्रयोग गर्ने बालक र त्यसलाई परम्परागत दृष्टिकोणबाट हेर्ने आमाबिचको संवादमार्फत नाटकले बालबालिकाको सोचलाई बुझ्नुपर्ने सन्देश दिन्छ।

नाटकमा मौरी, मुसा, चरा, उल्लुजस्ता बालबालिकाका प्रिय पात्रसँगै कार्टुन पात्र पेप्पा पिग पनि देख्न पाइन्छ। हास्य, नाटक र अन्तरक्रियात्मक प्रस्तुति समेटिएको यस नाटकले बालबालिकालाई मनोरञ्जनसँगै सिर्जनात्मक सोच र आत्मविश्वासको महत्त्व बुझाउने प्रयास गरेको छ।

मञ्चमा मनीष ब्याञ्जु, एलिना नकर्मी र सञ्चिता पराजुलीको अभिनय रहेको नाटकको ध्वनि डिजाइन देवेन्द्र न्यौपानेले गरेका छन्। सेट निर्माण सुरेश कार्की र शिव परियारले गरेका हुन् भने सम्पूर्ण प्रस्तुति मण्डला थिएटरको निर्माण टोलीले तयार पारेको हो।

३ वर्षदेखि माथिका सबै उमेर समूहका दर्शकका लागि उपयुक्त मानिएको ‘ए स्वीट एप्पल’ असार २५ गतेदेखि साउन २ गतेसम्म मण्डला थिएटर, थापागाउँमा मञ्चन भइरहेको छ। सोमबारदेखि शुक्रवार बिहान १०:३० र १२:३० बजे तथा शनिवार र आइतबार १२:३० बजे नाटक हेर्न सकिने व्यवस्था गरिएको छ।

तस्बिरहरू:-

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =