बङ्गलादेशमा मनसुनी बाढीः मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, हजारौँ विस्थापित

काठमाडौं । भारी मनसुनी वर्षाका कारण आएको आकस्मिक बाढी र पहिरोले बङ्गलादेशमा गत एक सातामा कम्तीमा ५० जनाको ज्यान गएको छ ।

अधिकारीहरूका अनुसार एक सातामा कम्तीमा ५० जनाको ज्यान गएको र बाढी, पहिरो र डुवानका कारण दशौँ हजार मानिस घरबारविहीन भएका छन् । नदीहरूले भरिएको निम्न क्षेत्र भएको बङ्गलादेश मनसुनी मौसममा बाढी र पहिरोको जोखिममा रहन्छ। वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले अत्यधिक मौसमी घटनाहरूको सङ्ख्या र तीव्रता बढाएको छ।

पछिल्ला केही दिनदेखि सेना र सीमा रक्षकहरूले देशको दक्षिण–पूर्वी जिल्लाहरूमा बाढीले कटान गरेको क्षेत्रमा डुङ्गामा खाना, पिउने पानी र अन्य आवश्यक सामग्री पुर्‍याइरहेका छन् ।

चट्टोग्राम जिल्लामा सबैभन्दा बढी क्षति

चट्टोग्रामका डिभिजनल कमिसनर मोहम्मद जियाउद्दिनले बताएअनुसार गत एक सातामा यो जिल्लामा मात्र ५० जनाको मृत्यु भएको छ, जसमध्ये २९ जना पहिरोमा पुरिएर मरेका हुन् । उनले भने, “अझै केही बेपत्ता छन्।”

उनका अनुसार करिब ३५ मानिस सरकारी आश्रय केन्द्रहरूमा बस्न बाध्य भएका छन् । गत साता कोक्स बजारको रोहिङ्ग्या शरणार्थी शिविरमा भारी वर्षाले पहिरो गएर १५ जनाको मृत्यु भएको थियो । उक्त घटनामा रूख कटान गरी पहाडी क्षेत्रमा बस्दै आएका १२ लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीका लागि भारी मनसुनी बर्षाले जोखिम बढाएको छ ।

बाढी पूर्वानुमान केन्द्रका सरदार उदय रायहानले आइतबार बताएअनुसार दक्षिण–पूर्वी जिल्लाहरूको स्थिति छिट्टै सुधारिने सम्भावना छ, तर मनसुन उत्तर–पूर्वी र उत्तरी भागमा सक्रिय छ । त्यहाँ थप बाढीको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 1 =