विपक्षलाई गृहमन्त्रीको प्रश्न- घटनापछि अस्पतालमा कति जना पुग्नुभएको थियो, मलाई स्टन्टबाज भन्ने ?

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न सरकारमा नआएको बताएका छन् ।

गणेश नेपाली मृत्यु प्रकरणबारे जानकारी दिन शुक्रवार संसदमा रोष्टममा समय लिएर पुगेका उनले उक्त घटनामा कति जना अस्पताल पुग्नुभयो ? भनी विपक्ष दलका सांसदहरूलाई प्रश्न पनि गरे ।

ठाउँमा पुगेर जनताको सेवा गर्न नसक्ने तर सदन जनताको सेवा गर्छु भनेर चिच्याएर मात्रै नहुने गृहमन्त्री गुरुङको भनाई थियो । उनले आफूहरूले ठाउँमा गएर जनताको सेवा गर्दा त्यसलाई विपक्ष दलका सांसदहरूले स्टन्टबाजी भनेकोमा आपत्ति जनाउँदै आफूलाई कुनैपनि कुरामा स्टन्टबाजी गर्ने इच्छा नभएको बताए ।

आफूहरू देशको सेवा गर्न आएको र देशलाई दुर्घटनामा जान नदिन सावधानीपूर्वक काम गरिरहेको गृहमन्त्री गुरुङको दाबी थियो ।

उनले भने ‘मैले धेरै माननीयज्यूहरू देखेँ–उठेर सदनमा घाँटी सुक्नेगरी चिच्याई रहनुभएको थियो । यो देखेँ मैले । यो भन्दै गर्दा हामी गृह मन्त्रालयका बसेर के गर्ने होला, कसो गर्ने होला, कसरी उहाँहरूलाई सान्त्वना दिने होला ? के के गर्ने, कसरी मिलाउने होला ? भनेर एउटा टिम बनाएर छलफल गरिरहेका थियौ । म यो सम्मानित सदनलाई सोध्न चाहन्छु–कति जना हुनुहुन्थ्यो ? हिजो त्यो हस्पिटलमा । जति जनताले घाँटी चिच्याएर कराउनुभएको छ आज । घाँटी चिच्याएर कराएर मात्रै हुँदैन यहाँ सदनमा मात्रै । जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन । त्यो मुखले बोलेको पसाचौ वर्ष भई सक्यो । हामीले हातले गर्नु पर्दछ । ठाउँमा गएर गर्नुपर्दछ । आफ्नो जनताको सेवा ठाउँमा गएर गर्न सक्नु पर्दछ । उहाँहरूको पीडा बुझेर गर्नुपर्दछ । त्यसलाई तपाईँहरू स्टन्टबाजी भन्नु हुन्छ । मलाई यहाँ इच्छा छैन कसैका लागि स्टन्टबाजी गर्नलाई । आफ्नो देशको सेवा गर्न आएको हो । जानीनजानी अन्जानमा होस आफूले सक्ने, नसक्ने हामीले गरेर हातमा पानी राखेर विस्तारी हिँड्दै हिँड्दै हामी यहाँसम्म आएको हो । पोख्लाकी, पोख्लाकी, देश दुर्घटनामा जालाकि भनेर । त्यसलाई तपाईँले स्टन्टबाजी भन्नुहुन्छ ।’

गृहमन्त्री गुरुङले जनताको सेवा गर्छु भनेर मुखले भनेको पचासौँ वर्ष बितिसक्दा पनि केही नभएर भन्दै विपक्ष दलका सांसदहरूप्रति कटाक्ष पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =