गणेश नेपाली मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: एमाले सांसद सुब्बा

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद भूमिका लिम्बू सुब्बाले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मोटरसाइकल पार्किङ गरेर राखेवापत कडा जरिवाना असुली गर्दा उनले आत्मदाह गर्ने निष्कर्षमा पुग्नु परेकाले उक्त मृत्यु प्रकरणको जिम्मेवारी सरकार आफैले लिनुपर्ने बताएकी हुन् ।

सांसद सुब्बाले सरकार संवेदनशील, उत्तरदायी र सामाजिक विवेकमाथि गम्भीर नभएको यस्तो नागरिकले आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको आरोप पनि लगाइन् । उनले उक्त मृत्यु प्रकरणको दोषीमाथि कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् ।

सांसद सुब्बाले भनिन् ‘मोटरसाईकल पार्किङ गरेका कारण १० हजार रुपैयाँ जरिवाना गरी अत्यन्तै तनाव दिएको कारण आत्महत्याको निष्कर्षमा पुगेको गणेश नेपालीको आफन्तको भनाई छ । गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्दछ । यो मृत्यु केबल एउटा व्यक्तिको मृत्यु मात्रै होइन । यो राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथिको गम्भीर प्रश्न पनि हो । घटनाको छानबिन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई राहतको व्यवस्थापन गर्नका लागि म जोडदार माग गर्दछु ।’

त्यस अवसरमा सांसद सुब्बाले प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति जबाफदेही नभएको पनि आक्रोश समेत व्यक्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + five =