अस्पतालबाट निस्कने फोहरले बढाउँदैछ सङ्क्रमणको जोखिम

जनकपुरधाम । वातावरणीय मानव अधिकार रक्षकको एक समूहले मधेस प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

अस्पताल तथा स्वास्थ्यचौकीबाट निस्कने फोहरको उचित व्यवस्थापनको माग गर्दै उनीहरुको समूहले वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र धनुषा जिल्ला प्रशासन कार्यालयमा ११ बुँदे सुझाव पत्र प्रस्तुत गरेका हुन् ।

अवगत पत्र बुझ्दै मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले नागरिक समाजको सक्रियताले सरकारलाई थप जिम्मेवार बन्न सहयोग मिलेको बताए ।

टोलीले जनकपुरधामका अस्पताल, क्लिनिक, प्याथोलोजी प्रयोगशाला तथा ल्याण्डफिलसाइटको स्थलगत अनुगमन गरेको थियो । अवलोकन पछि तयार पारी बुझाएको प्रतिवेदनमा जैविक जोखिमयुक्त फोहरलाई सामान्य फोहरसँग मिसाएर व्यवस्थापन गरिएको उल्लेख छ ।

फोहरको वैज्ञानिक वर्गीकरण नभएको तथा सुरक्षित ढुवानी र अन्तिम व्यवस्थापन कानुनी मापदण्डअनुसार नभएको पाइएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवानले जानकारी दिए ।

नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ ।

फोहर व्यवस्थापन ऐन, २०६८ तथा स्वास्थ्य संस्थाको फोहर व्यवस्थापन निर्देशिका, २०२० ले स्वास्थ्य संस्थाबाट निस्कने जैविक जोखिमयुक्त फोहरको वर्गीकरण, सङ्कलन, भण्डारण, ढुवानी र अन्तिम व्यवस्थापनका स्पष्ट मापदण्ड तय गरेका छन् । व्यवहारमा कानुनी प्रावधान पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा स्वास्थ्य संस्थाबाट निस्कने फोहर स्वयं सार्वजनिक स्वास्थ्य र वातावरणका लागि गम्भीर चुनौती बन्दै गएको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधाम यस समस्याको प्रतिनिधि उदाहरणका रूपमा देखिएको छ । बिरामी उपचारका लागि अस्पताल पुग्छन् र स्वस्थ भएर घर फर्कने अपेक्षा गर्छन् ।

उपचारपछि निस्कने जैविक जोखिमयुक्त फोहरको उचित व्यवस्थापन नहुँदा स्वास्थ्य सेवा प्रणाली नयाँ सङ्क्रमण र प्रदूषणको स्रोत बन्ने जोखिम बढिरहेको छ ।

जनस्वास्थ्य विज्ञ डा कालीप्रसाद यादव प्रयोग भइसकेका सिरिन्ज, सुई, रगतले दूषित सामग्री, प्रयोगशालाका नमुना, शल्यक्रियापछि निस्कने जैविक पदार्थ तथा औषधिजन्य अवशेषजस्ता फोहर सामान्य फोहरभन्दा धेरै जोखिमयुक्त हुन्छ, भन्छन् ।

उक्त सामग्रीको वैज्ञानिक व्यवस्थापन नभए हेपाटाइटिस–बी, हेपाटाइटिस–सी, एचआइभी तथा अन्य सङ्क्रामक रोग फैलिने सम्भावना रहन्छ । स्वास्थ्य सेवा विस्तारसँगै जनकपुरधाम क्षेत्रमा स्वास्थ्य संस्थाको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विजयकुमार साहले उपमहानगरपालिकाअन्तर्गत २६ र प्रदेश सरकारअन्तर्गत ५० भन्दाबढी स्वास्थ्य संस्था सञ्चालनमा छन् ।

जनकपुरधाम उपमहानगरपालिकाले वडा नं १९ मा डम्पिङसाइट स्थापना गरी नगरको फोहर व्यवस्थापन गर्दै आएपनि स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहरका लागि छुट्टै वैज्ञानिक प्रणालीको आवश्यकता देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =