नागरिकले मात्र होइन, सरकारले पनि विधि पालना गर्नुपर्छ: पूर्वगृहमन्त्री अर्याल

काठमाडौँ । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले कानुनी राज्य सञ्चालनका लागि सरकार सञ्चालकले नै विधि र विधानको सही पालना गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अर्यालले सरकार र नागरिकबीच सहकार्य हुनुपर्नेमा पछिल्लो समय प्रतिद्वन्द्विता बढिरहेको टिप्पणी गरेका छन् ।

‘कानुनी राज्य कसरी सञ्चालन हुन्छ ? सर्वप्रथम सरकार सञ्चालनकर्ताले स्वयंले बुझ्नुपर्छ, अनि नागरिकसँग सहकार्य गर्नुपर्दछ ।’ उनले लेखेका छन् ।

उनले कानुनी शासन भएको देशमा आम नागरिकले सास्ती भोग्ने र सरकारसँग जोडिएका व्यक्तिहरूले उन्मुक्ति पाउने अवस्था हुन नहुने बताएका छन् ।

‘कानुनी राज्यमा नागरिकले मात्र होइन, सरकारले पनि विधिविधानको सही रूपमा पालना गर्नुपर्दछ’ अर्यालले भनेका छन् ।

उनले सबै विचारधारा, वर्ग र समुदायका नागरिकसँगको सहकार्यमा सत्य, निष्ठा र मानवताको आधारमा राज्य सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । सुशासनको मेरुदण्ड कानुनी शासन भएको उल्लेख गर्दै उनले अहिले देखिएका केही संकेतहरू सकारात्मक नरहेको टिप्पणी गरेका छन् ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेश नेपालीको प्रसंग उल्लेख गर्दै अर्यालले उनलाई न्याय दिनुपर्ने बताएका छन् । ‘स्वर्गीय गणेश नेपाली र परिवारजनले न्याय पाउनु पर्छ । स्वर्गीय गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना’ उनले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + four =