आयोगका सिफारिस कार्यान्वयन नगर्नु राज्यतर्फबाट मानव अधिकार हनन: लिली थापा

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले गत वर्षको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनाबारे आयोगको अनुसन्धान प्रतिवेदन कार्यान्वयनको लागि अग्रसरता लिन संसदीय समितिलाई आग्रह गरेको छ ।

आयोगकी सदस्य लिली थापाले बुधवार प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिलाई यस्तो आग्रह गरेकी हुन् ।

उनले जेनजी पुस्ताको आन्दोलनको क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनासम्बन्धी आयोगको सिफारिस कार्यान्वयनको लागि कानून समितिले कस्तो भूमिका खेल्छ ? भन्दै प्रश्न समेत गरिन् ।

उनले जेनजी आन्दोलनसम्बन्धी विभिन्न निकायले सार्वजनिक गरेका अधुरा तथा तथ्यरहित प्रतिवेदनहरूले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि धुमिल पारेको समेत बताइन् । थापाले द्वन्द्वकालीन समयमा महिलामाथि भएका लैंगिक तथा यौन हिंसाका पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने र दोषीलाई कारबाही गर्न आयोगले पटक–पटक सिफारिस गरे राज्यले ती सिफारिसहरू कार्यान्वयन नगरेकोप्रति आक्रोश व्यक्त गरिन् ।

उनले भने ‘जेनजी आन्दोलनसम्बन्धी आयोगको अनुसन्धान प्रतिवेदन कार्यान्वयनको अवस्था के छ ? यो कुरा भोलिको दिनमा प्रस्ट समितिले प्रस्ट गरिदिनेछ । किनभने यहीँ जेनजी शहीदकी आमा हुनुहुन्छ । त्यसअघि बिबिसीदेखि धेरैले आन्दोलनको तहसम्म नपुगेर अन्तर्राष्ट्रिय समुदायमा देशको छवि बिगार्ने गरी प्रतिवेदनहरू आए । हामी कसैले पनि त्यसको अग्नेष्ट स्ट्याण्ड लिन सकेनौँ । त्यसकारण आयोगले बुझाएको जेन–जी आन्दोलन प्रतिवेदन कार्यान्वयनका लागि यो समितिले कस्तो भूमिका खेल्छ ? म यो समितिसमक्ष प्रश्न गर्न चाहन्छु । अर्को महत्त्वपूर्ण कुरा हामीले द्वन्द्वकालीन अवस्थामा महिलामाथि भएका लैंगिक तथा यौन हिंसाको सम्बन्धमा पीडितलाई क्षतिपूर्ति दिन तथा दोषीलाई कारबाहीको लागि सिफारिस गरेका छौँ । पटक पटक भएका सिफारिस कार्यान्वयन गर्नुको सट्टा कागजसरह दराजमा थन्क्याउनु राज्यतर्फबाट भएको मानव अधिकार हनन् हो कि होइन ? यो प्रश्न पनि म राख्न चाहन्छु ।’

उनले आयोगका सिफारिस कार्यान्वयन गर्नुको सट्टा दराजमा थन्क्याउने प्रवृत्तिले कतै राज्यतर्फबाटै मानव अधिकार उल्लङ्घन त भइरहेको छैन ? भन्दै प्रश्न गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + two =