स्वास्थ्य बीमालाई नाफा नोक्शानको दृष्टिकोणबाट हेर्न हुँदैनः स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमालाई नाफा–नोक्सानको दृष्टिकोणबाट हेर्न नहुने बताएकी छन् ।

सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले स्वास्थ्य बीमा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम भएको बताइन् ।

उनका अनुसार स्वास्थ्य बीमालाई सामाजिक न्याय, जोखिम बाँडफाँड र राज्यको स्वास्थ्य लगानीका रूपमा बुझ्नुपर्ने हुन्छ ।

उनीले भनिन्, ‘स्वास्थ्य बीमा अन्य व्यवसायिक बीमाजस्तो नाफामूलक व्यवसाय पक्कै पनि होइन । यो सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम हो । स्वास्थ्य बीमालाई नाफा–नोक्सानको दृष्टिकोणबाट होइन, सामाजिक न्याय, जोखिम बाँडफाँड र स्वास्थ्य क्षेत्रमा राज्यको लगानीको रूपमा हेर्नुपर्छ ।’

मन्त्री मेहताले सरकारले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको बताइन् ।

उनका अनुसार चालु आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने आगामी आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षमा २३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी भइसकेको उनले जानकारी दिइन् । ‘२०८२ मंसिर मसान्तसम्म स्वास्थ्य बीमा बोर्डमा आबद्ध सबै सेवा प्रदायक संस्थाहरूको दाबी भुक्तानी फस्र्यौट भइसकेको छ,’ उनले भनिन् ।

मंसिरपछि आएका दाबी भुक्तानीका लागि आवश्यक बजेट तथा दीगो स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग समन्वय भइरहेको पनि उनले बताइन् ।

मन्त्री मेहताले स्वास्थ्य बीमा कार्यक्रमको प्रमुख चुनौतीका रूपमा संगठित क्षेत्रको कम सहभागिता रहेको उल्लेख गरिन् ।

अधिकांश बिरामी व्यक्तिहरू मात्रै बीमामा आवद्ध हुँदा कार्यक्रमको दीगोपनमा चुनौती देखिएको उनको भनाइ छ । उनले अल्पकालीन र दीर्घकालीन सुधारका योजना अघि बढाइएको बताइन् ।

अल्पकालीन रूपमा सुविधा प्याकेज पुनरावलोकन, निजी स्वास्थ्य संस्थामा बीमा सेवा व्यवस्थापन तथा प्रभावकारी अनुगमनलाई प्राथमिकता दिइएको उनले बताइन् ।

दीर्घकालीन रूपमा सबै क्षेत्रका कर्मचारीलाई अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध गराउने र सामाजिक स्वास्थ्य सुरक्षा कोषअन्तर्गतका सेवाहरू एकीकृत गर्ने योजना रहेको उनले उल्लेख गरिन् ।

मन्त्री मेहताले स्वास्थ्य क्षेत्रमा गरिएको लगानी खर्च नभई मानव पुँजी निर्माण र देशको भविष्यमा गरिएको लगानी भएको पनि बताइन् ।

आगामी वर्ष समग्र स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रत्यक्ष बजेट ९६ अर्ब ३७ करोड रुपैयाँ रहेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =