रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ– ‘म विकास र समृद्धिकै खोजीमा छु’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि पुरानो पुस्ताले आफ्नो ज्ञान, अनुभव र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको विज्ञान तथा प्रविधिमा आधारित ज्ञानलाई जोडेर मुलुकको स्रोत–साधन उपयोग गर्नुपर्नेमा जोड दिए ।
उनले आफूलाई केहीले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको निकटताबारे प्रश्न गर्ने गरेको उल्लेख गर्दै विकास र समृद्धिको एजेन्डा अघि बढाउन सहयोग गरिरहेको स्पष्ट पारे । ‘मैले हिजो ५० वर्षदेखि जे भन्दै आएको छु, त्यही खोज्न लागेको हो । विकास र समृद्धि अब ल्याउनुपर्छ । हाम्रो पुस्ताले उहाँहरूलाई सहयोग गर्नुपर्छ,’ उनले भने ।
भट्टराईले ज्ञान र सीप हस्तान्तरणमार्फत मात्रै देशलाई समृद्ध बनाउन सकिने बताए ।
‘हामीसँग भएको ज्ञान र सीप हस्तान्तरण गर्नुपर्छ । र उहाँहरूसँग भएको प्रविधिमा आधारित ज्ञान र सीपसँग जोडेर मुलुकका स्रोतसाधनको सही उपयोग गर्नुपर्छ,’ उनले भने ।
उनले दलगत स्वार्थभन्दा माथि उठेर सबैले नयाँ पुस्तालाई सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए । ‘पार्टीहरू त राजनीतिक अधिकारका लागि बनेका संगठन हुन् । अहिले विज्ञान र प्रविधिको युगमा पुरानो ढाँचाले मात्र काम गर्दैन,’ उनले भने ।
भट्टराईका अनुसार आधुनिक युगमा नयाँ पुस्ताले नयाँ सोच र प्रविधिसहित अगाडि बढ्नुपर्ने भएकाले पुरानो पुस्ताले सहयोगी भूमिका खेल्नुपर्ने हुन्छ ।








