५०० दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गरिनेछः मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई ५०० दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताएकी छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने बताइन् ।

उनले काठमाडौं उपत्यकाका विभिन्न स्थान तथा नदी किनाराबाट हटाइएका र हाल होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारहरूको दीर्घकालीन पुनस्र्थापनामा सरकार संवेदनशील रहेको बताइन् ।

उनीले भनिन्, ‘भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या हामी ५०० दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने लक्ष्यमा छौँ । सामाजिक न्यायसँग जोडेर यसलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।’

मन्त्री रावलका अनुसार तत्कालीन राहतस्वरूप प्रतिपरिवार २५ हजार रुपैयाँ र तीन महिनाको घरभाडा स्वरूप मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

उनले भूमिहीन यकिन भएका परिवारलाई नागरिकताका आधारमा उपयुक्त स्थानमा जग्गा उपलब्ध गराउने काम भूमि समस्या समाधान समितिमार्फत अघि बढाइएको बताइन् ।

उनका अनुसार हालसम्म १ लाख ३ हजार १४० भूमिहीन दलित, १ लाख ८६ हजार ८६० भूमिहीन सुकुम्बासी र ९ लाख ५४ हजार ६५ अव्यवस्थित बसोबासीका गरी कुल १२ लाख ४७ हजार ४६९ निवेदन प्रमाणीकरण प्रक्रियामा छन् ।

मन्त्री रावलले जग्गा प्रशासनलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउन डिजिटलाइजेशनलाई तीव्रता दिइएको बताइन् ।

उनले जग्गा प्रशासन सम्बन्धी सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने लक्ष्यअनुसार हालसम्म ६ वटा स्थानीय तहबाट सेवा सुरु भइसकेको जानकारी दिइन् ।

नापी र भूमि प्रशासन कार्यालयहरूमा अनधिकृत व्यक्तिको पहुँच निषेध गरिएको दाबी गर्दै उनले सेवा प्रवाहमा ढिलासुस्ती र अनियमितता न्यूनीकरणका लागि डिजिटल पूर्वाधार सुदृढ गरिने बताइन् ।

मन्त्री रावलले वैज्ञानिक भूमिसुधार र भू–उपयोग नीतिको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिइएको उल्लेख गरिन् ।

उनका अनुसार कृषियोग्य भूमिको संरक्षण र जग्गाको खण्डीकरण नियन्त्रणमा जोड दिइएको छ भने स्थानीय तहमा भू–उपयोग योजना तर्जुमा गरी भूमि व्यवस्थापनलाई उत्पादनसँग जोड्ने कार्यक्रम अघि बढाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =