प्रशासनिक संयन्त्र र राजनीतिक अवरोधले उद्यमशीलता प्रभावित: सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले नेपालको प्रशासनिक संयन्त्र र राजनीतिक अवरोधका कारण उद्यमशीलता तथा आर्थिक विकासमा गम्भीर असर परेको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले उद्यमीहरूलाई प्रशासन र सुरक्षाकर्मी अनुकूल व्यवहार गर्न नसक्दा विभिन्न प्रकारका अवरोधहरू भोग्नुपर्ने अवस्था रहेको बताए ।

पाण्डेले केही व्यवसायीले प्रहरीको दबाबका कारण निःशुल्क सेवा दिन बाध्य हुनुपरेको उदाहरण प्रस्तुत गरे ।

‘नेपालको ब्युरोक्रेटिक सिस्टमले नेपालको प्रगतिलाई अवरोध गरेको छ । यो राजनीतिक र प्रशासनिक हर्डल अन्त्य नगरी उद्यमी बन्न र व्यवसाय अघि बढाउन कठिन छ,’ उनले भने ।

उनले आफ्नो अनुभव सुनाउँदै रेस्टुरेन्ट व्यवसायीहरूले प्रहरीको अनौपचारिक दबाबका कारण समस्यामा पर्ने गरेको बताए । ‘बेलुका प्रहरीहरू आउँछन्, खाजा खानु पर्छ भन्छन् । पैसा छैन भने पनि खुवाउनुपर्छ । भोलिपल्ट फेरि उही ठाउँमा उभिन्छन्, जसले गर्दा ग्राहक आउँदैनन्,’ उनले भने ।

पाण्डेका अनुसार यस्ता व्यवहारका कारण व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन् ।

उनले राज्यले व्यवसायमैत्री नीति निर्माण गर्दै स्वदेशमै रोजगारी सिर्जना गरी युवाको विदेश पलायन रोक्नुपर्ने आवश्यकता औंल्याए ।

पाण्डेले आर्थिक विकासका लागि निजी क्षेत्र र नागरिकलाई नेतृत्व दिनुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =