संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।
सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर एवं महत्त्वपूर्ण बन्न सरकारलाई निर्देशन दिएका हुन् ।
उनले सम्भावित प्राकृतिक विपद् व्यवस्थापनको पूर्वतयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिए । सांसदहरूले सदनमार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले उक्त निर्देशन दिएका हुन् ।
उनले भने ‘माननीय सदस्यहरूले उठाउनुभएका गम्भीर विषयहरूका सम्बन्धमा जवाफ दिन तथा देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद् व्यवस्थापनको पूर्वतयारीका सन्दर्भमा भएका कामकारबाहीबारे जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु ।’
मनसुनजन्य जोखिमको समय नजिकिएसँगै हुनसक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनुपर्नेमा सभामुखले जोड दिएका छन् ।








