कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन: सांसदहरू

काठमाडौँ । नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले कर्णाली क्षेत्रको सडक पूर्वाधारको दयनीय अवस्था र बढ्दो सवारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।

सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कर्णालीका सडकहरू ‘मृत्युमार्ग’ मा परिणत भएको भन्दै राज्यको उदासीनताप्रति आक्रोश व्यक्त गरिन् ।

सुर्खेतदेखि कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी दैलेखको कर्णाली नदीमा दुर्घटना भएको सन्दर्भ उल्लेख गर्दै प्रमुख सचेतक थापाले दुर्घटना भएको लामो समय बितिसक्दा समेत राज्यका सम्बन्धित निकायबाट घटनाको आधिकारिक विवरण र यकिन तथ्य आउन नसक्नु खेदजनक रहेको बताइन् ।

उनले सरकारको राजनीतिक नारा र कर्णालीको वास्तविक अवस्थाबीच ठुलो खाडल रहेको टिप्पणी गरिन् । प्रधानमन्त्रीले कर्णालीलाई ‘स्वर्गकी रानी’ र ‘सुइना’ (सपना) भनेर सम्बोधन गरे पनि व्यवहारमा जनताले अकालमा ज्यान गुमाउनुपरेको भन्दै उनले के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो रु भन्दै प्रश्न गरिन् ।

प्रमुख सचेतक थापाले कर्णालीमा भइरहेका सडक दुर्घटनालाई केवल संयोग मात्र मान्न तयार नरहेको बताउँदै यसलाई राज्यको चरम लापरबाही र बेवास्ताको परिणाम भएको जिकिर गरिन् । उनले तत्काल उद्धार कार्यलाई तीव्रता दिन र कर्णाली राजमार्गको स्तरोन्नतिका लागि ठोस योजनासहित कदम चाल्न सरकारसँग माग गरिन् ।

उनले भने ‘कर्णालीका सडकमा दिनहुँ रगत बगिरहेको छ, नागरिकहरू ज्यान हत्केलामा राखेर यात्रा गर्न विवश छन् । नियमन गर्ने निकाय छैन, दुर्घटना हुँदा उद्धार गर्ने आवश्यक उपकरण छैनन् । यो कस्तो विडम्बना हो ? हामी राजधानीमा सुविधा सम्पन्न तारे होटलमा बसेर आहा ! कर्णाली त स्वर्ग हो भनेर भाषण गर्छौँ । हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूले पनि कर्णालीमा गएर त्यसलाई स्वर्गकी रानी कर्णालीकी सुइना भनेर सम्बोधन गर्नुभयो । तर सभामुख महोदय, म यहाँ उभिएर सोध्न चाहन्छु, के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो ? के कर्णालीका जनताको निधारमा सधैँ अकालको मृत्यु मात्रै लेखिएको छ ? जनताको यहाँ विडम्बनाको पराकाष्ठा हेर्नुहोस् सभामुख महोदय, म यहाँबाट यसलाई दुर्घटना भन्न तयार छैन, यो त राज्यको चरम विवेक, चरम बेवास्ता र कर्णालीमाथिको यो खेलबाडको अब अन्त्य हुनैपर्छ । कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन । म यस दुःखद् घटनाको तत्काल उद्धार कार्यलाई तीव्र बनाउन र कर्णाली राजमार्गको स्तर उन्नतिका लागि ठोस कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले कर्णाली राजमार्गको जीर्ण अवस्था र त्यहाँ भइरहेका सडक दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद बरालले कर्णालीका जनताले सडक अभाव र असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै राज्यको उदासीनताप्रति आपत्ति प्रकट गरिन् । कर्णालीमा पछिल्लो समय भएको दुर्घटनाको ७२ घण्टा बितिसक्दा पनि बेपत्ताहरूको अवस्था अज्ञात रहेको भन्दै उहाँले उद्धार कार्य प्रभावकारी नभएको गुनासो गरिन् ।

सांसद बरालले भनिन् ‘अहिलेसम्म न सास भेटिएको छ, न लास। कर्णालीका जनता सधैँ राज्यको बलिका रूपमा रहनुपर्ने स्थिति कहिलेसम्म रहन्छ रु राज्यले कर्णालीका जनतालाई नागरिकका रूपमा कहिले स्वीकार गर्छ ? प्रधानमन्त्रीज्यूले ‘मेरा सुइना, कर्णालीका सुइना’ भन्दै फोटोमा रमाइरहँदा त्यहाँका जनताले दैनिक मृत्युसँग जुध्नु परिरहेको छ । हामी सरकारसँग अधिकार खोज्न आएका हौँ, भिख मागेका होइनौँ ।’

उनले कर्णाली राजमार्गलाई ‘मृत्यु मार्ग’ को संज्ञा दिँदै यसलाई सुरक्षित राजमार्गका रूपमा विकास गर्न माग गरिन् । हेलिकप्टरमार्फत प्रभावकारी खोजतलासका लागि आग्रह गर्दा पनि पुरानो प्रविधि र न्यून जनशक्ति परिचालन गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् ।

सांसद बरालले प्रधानमन्त्रीका पुराना प्रतिबद्धता र नाराहरूलाई स्मरण गराउँदै कर्णालीको वास्तविकता र सरकारी प्रचारबाजीमा ठुलो खाडल रहेको टिप्पणी गरिन् । उनले कर्णालीका बासिन्दालाई पनि सुरक्षित रूपमा हिँडडुल गर्न पाउने वातावरण सुनिश्चित गर्न र सडक पूर्वाधारमा ठोस सुधार ल्याउन सरकारसँग माग गरिन् ।

साथै, दुर्घटनामा ज्यान गुमाएका जोखे तिरुवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता चार जनाको शीघ्र खोजीका लागि उहाँले सदनमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =